खरानीबाट उठ्दै मीनबहादुर गुरुङ, महाराजगञ्ज शाखा पनि सञ्चालनमा
धेरैले सोचेका थिए, ‘अब यो भव्य संरचना र मीनबहादुरको साम्राज्य उठ्न वर्षौ लाग्नेछ ।’ तर, खरानीको थुप्रोभित्र एउटा यस्तो अठोट बाँकी थियो, जसले हार मान्न जानेकै थिएन ।
काठमाडौं : ध्वस्त संरचना, कालो भइसकेका पर्खालहरू र धुवाँको गन्ध । केही महिनाअघिसम्म महाराजगञ्जस्थित भाटभटेनी सुपरमार्केटको दृश्य यस्तै भयावह थियो। ‘जेनजी’ आन्दोलनको क्रममा अर्बौंको लगानी हेर्दाहेर्दै खरानीमा परिणत गरिदियो ।
भाटभटेनी सुपरस्टोर व्यवस्थापनका अनुसार जेनजी आन्दोलन क्रममा २४ भदौमा भएको तोडफोड, लुटपाट र आगजनीबाट २० ठूला स्टोरमा १० अर्ब ८५ करोड ६७ लाख ९८ हजार ८ सय ५४ रुपैयाँ बराबर क्षति भएको थियो ।
धेरैले सोचेका थिए, ‘अब यो भव्य संरचना र मीनबहादुरको साम्राज्य उठ्न वर्षौ लाग्नेछ ।’ तर, खरानीको थुप्रोभित्र एउटा यस्तो अठोट बाँकी थियो, जसले हार मान्न जानेकै थिएन । मीनबहादुरले त्यो खरानी र आगोमा उभिएर भने, ‘यो मेरो लागि स्वीट पेन मात्रै हो । म फेरि उठ्छु ।’
विहिबार महाराजगञ्ज भाटभटेनीको मूल ढोका पुनः खुल्दै गर्दा यो केवल एउटा व्यापारिक केन्द्रको ओपनिङ मात्र होइन, यो नेपाली उद्यमीको अदम्य साहस र ‘देशमै केही गर्न सकिन्छ’ भन्ने बलियो सन्देश पनि हो । विहिबार उद्घाटन क्रममा भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले उही सन्देश दिए, ‘हामी फेरि नयाँ उत्साह बोकेर आएका छौं ।’
गत भदौको त्यो उथलपुथलमा भाटभटेनीका १२ वटा स्टोर निशानामा परे । कोटेश्वरदेखि महाराजगञ्जसम्मका संरचनाहरू लुटपाट र आगजनीले क्षतविक्षत भए। अर्बौँको क्षति र मानिसको ज्यान समेत जाने गरी भएको त्यो घटनाले जोकोहीलाई विक्षिप्त बनाउँथ्यो । तर, भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले आँसु खसालेर समय खेर फालेनन् ।
मीनबहादुर थाकेनन् । उनले भग्नावशेषमै उभिएर संकल्प गरे । ‘म फेरि उठ्नेछु र झन् भव्य भएर फर्किनेछु ।’ उनले त्यो घटनलाई ‘मीठो पीडा’को रुपमा लिए ।
उनले १९ मंसिर मा आगजनी भएको तीन महिनामै बालुवाटारको केन्द्रीय गोदाम सञ्चालनमा ल्याए । २४ माघमा कोटेश्वर शाखाको सञ्चालनमा ल्याए । आज फागुन १४ (आज) अत्याधुनिक प्रविधिसहित महाराजगञ्ज शाखाको सुरुवात गरेका छन् ।
नयाँ स्वरुपमा खुलेको भाटभटेनीको प्रवेशद्वारमा एउटा तस्बिर छ, जसले जोकोहीको मन छुन्छ । मीनबहादुरको आफ्नै हात भाँच्चिएको तस्बिरसँगै जल्दै गरेको सिंहदरबार, अदालत र भाटभटेनीको दृश्य समेटिएको छ। त्यसको तल लेखिएको छ, ‘हे भगवान् ! अब उप्रान्त मेरो देश नेपालमा यस्तो कहिल्यै नहोस् ।’
महाराजगञ्ज त एउटा खुड्किलो मात्र हो । गुरुङ भन्छन्, ‘चैत मसान्तमा बौद्ध शाखा सञ्चालनमा आउनेछ । आगामी दशैंसम्म पोखरा, धरान र विराटनगरसहित बाँकी १० वटा ध्वस्त आउटलेटहरू ‘झन् भव्य स्वरूपमा’ ल्याउनेछौं ।’
.jpg)
.jpg)
.jpg)

.gif)

.png)

