मीनबहादुर गुरुङले ७१ करोडमा बनाइदिएका बाल अस्पतालको भवन हस्तान्तरण

गुरुङले अस्पतालको साँचो जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारतीमार्फत् अस्पतालका अध्यक्ष डा. कोइरालालाई हस्तान्तरण गरे


२०८३ जेठ ९ शनिबार १७:२३ बजे

काठमाडौँ : काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) अन्तर्गत बाल अस्पतालको नवनिर्मित पश्चिमतर्फको भवन निर्माण सम्पन्न भई हस्तान्तरण गरिएको छ। बूढानीलकण्ठ नगरपालिका-७, हेपाली हाइटमा रहेको उक्त अत्याधुनिक भवन समाजसेवीहरू मीनबहादुर गुरुङ, सावित्री गुरुङ, पहलमान गुरुङ र सरला गुरुङले निर्माण गरिदिएका हुन्।

व्यवसायी गुरुङको स्वामित्वमा रहेको भाटभटेनी उद्योग वाणिज्य समूहले रु ७१ करोड ४ लाख ४२ हजार २४४ को लागतमा यो भवन तयार पारेको हो, जसको उद्घाटन जगत्गुरु शङ्कराचार्य श्री विधुशेखर भारतीले एक भव्य कार्यक्रमका बीच गरे। गुरुङले अस्पतालको साँचो जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारतीमार्फत् अस्पतालका अध्यक्ष प्रा.डा. भगवान कोइरालालाई हस्तान्तरण गरेका हुन् ।

भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री सुशीला कार्कीले यो अस्पतालको स्थापनासँगै आर्थिक रूपमा विपन्न तथा सर्वसाधारणका बालबालिकाले सहज र सुलभ रूपमा विशिष्टीकृत स्वास्थ्य सेवा पाउने वातावरण सुनिश्चित भएको बताइन्। त्यस्तै, अस्पतालका अध्यक्ष एवं वरिष्ठ मुटु रोग विशेषज्ञ प्रा.डा. भगवान कोइरालाले गैरनाफामूलक संस्थाका रूपमा रहेको किओचले बालबालिकाको उपचारमा उच्च गुणस्तर र विशिष्टीकृत सेवालाई प्राथमिकता दिने स्पष्ट पारे।

भवन निर्माणकर्ता व्यवसायी मीनबहादुर गुरुङले सर्वसाधारण नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने पवित्र उद्देश्यका साथ अस्पताल निर्माणमा सहयोग पुर्‍याएको उल्लेख गरे।

काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ मुनाफारहित कम्पनीका रूपमा दर्ता भई समाज कल्याण परिषद्मा आबद्ध देशकै अग्रणी गैरसरकारी सामाजिक संस्था हो। देशभरका सबै वर्गका बालबालिका माझ गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने, उनीहरूको स्वास्थ्य अवस्थामा सुधार ल्याउने र शिशु तथा बाल मृत्युदरलाई उल्लेख्य रूपमा घटाउने मूल लक्ष्यका साथ यो अस्पताल स्थापना गरिएको हो।

किओचले काठमाडौँ उपत्यकामा विशिष्टीकृत सेवासहितको केन्द्रीय बाल अस्पताल सञ्चालन गर्नुका साथै देशका सातै वटा प्रदेशमा भौतिक संरचनासहितको बाल अस्पताल सञ्जाल निर्माण कार्यलाई तीव्रता दिइरहेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७