ठमेलबाट ७ विदेशी महिला नियन्त्रणमा
जथाभावी मोलमोलाइ गर्ने विदेशी नागरिकहरू प्रहरी हिरासतमा
काठमाडौँः राजधानीको प्रमुख पर्यटकीय केन्द्र ठमेलमा अमर्यादित गतिविधिमा संलग्न रहेको अभियोगमा सातजना विदेशी महिलाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ महानगरपालिकाको वडा नम्बर २६ मा पर्ने ठमेल क्षेत्रमा सर्वसाधारणको आवागमनमा बाधा पुर्याउँदै अश्लील हर्कत गर्ने र ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि नै दुर्व्यवहार गर्ने विदेशी नागरिकहरूलाई प्रहरी वृत्त लैनचौरको टोलीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले ठमेलको सडकमा आवतजावत गर्ने नेपाली तथा बाह्य मुलुकका पर्यटक र बुझक्कड सर्वसाधारणलाई विनाकारण बाटो रोकेर अश्लील कार्यका लागि बार्गेनिङ (मोलमोलाइ) गर्ने र तनाव दिने गरेको उजुरी परेपछि उनीहरूलाई पक्राउ गरिएको स्पष्ट पारेका छन्।
प्रहरीका अनुसार नियन्त्रणमा लिने क्रममा ती महिलाहरूले कार्यक्षेत्रमा खटिएका सुरक्षाकर्मीहरूलाई अपशब्द प्रयोग गरी गालीगलौज गर्नुका साथै हातपात र धक्कामुक्का समेत गरेका थिए।
जिल्ला प्रहरी परिसरका प्रवक्ता भट्टराईले पक्राउ परेका ती विदेशी महिलाहरूमाथि थप छानबिन गर्नका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पाँच दिनको हिरासत म्याद अनुमति लिइएको जानकारी दिएका छन्। अहिले उनीहरूलाई हिरासतमा राखेर घटनाको विस्तृत अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
.gif)

.png)

