चिनियाँ भन्सार अधिकृत लीको दुःखद कथा : जिम्मेवारी सम्हालेको चार दिनमै बाढीमा बिलाइन्

नयाँ जागिर पाएपछि लीले आफ्नो भविष्यसँगै परिवारका लागि पनि एउटा सपना बुनेकी थिइन्। उनकी बहिनीका अनुसार उनले अर्को वर्षको वसन्त चाडमा आमाबुबालाई बेइजिङ घुमाउन लैजाने वाचा गरेकी थिइन्। तर आमाबुबालाई सहर घुमाउने उनको त्यो सानो सपना पूरा हुन नपाउँदै बाढीले उनक


२०८३ भदौ २१ आइतबार १७:२८ बजे

एलिस यान
साउथ चाइना मर्निङ्ग पोष्ट

संघाई :  सरकारी जागिरका लागि २ हजार प्रतिस्पर्धीलाई पछि पारिन्। त्यसअघि गाउँबाट निस्किएर आफ्नो शैक्षिक योग्यता बढाउन वर्षौं मेहनत गरिन्। मास्टर्स पूरा गरिन्। अन्ततः आफूले चाहेको जागिर पाइन्।

तर जागिर सुरु गरेको चार दिनमै उनको जीवनको यात्रा टुंगियो। चीनको तिब्बतस्थित नेपाल–चीन सीमा क्षेत्रमा कार्यरत २४ वर्षीया ली लेयाङको यही नियतिले अहिले चीनमा धेरैलाई भावुक बनाएको छ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार लीले अगस्ट २१ मा तिब्बतको केरुङ बन्दरगाहस्थित भन्सार कार्यालयमा वनस्पति क्वारेन्टाइन अधिकृतका रूपमा काम सुरु गरेकी थिइन्।

नयाँ जागिरको उत्साह सेलाउन नपाउँदै अगस्ट २६ मा उनले काम गरिरहेको कार्यालय क्षेत्रमा विनाशकारी बाढी र पहिरो आयो।

नेपालतर्फ हिमनदी भत्किएपछि आएको पहिरो तथा बाढी करिब २२ किलोमिटर दूरी सात मिनेटमै पार गर्दै केरुङ बन्दरगाह क्षेत्रमा पुगेको रिपोर्टमा उल्लेख छ।

त्यसले भन्सार कार्यालयसहित २७ वटा संरचना ध्वस्त बनायो।

ली त्यही कार्यालयभित्र थिइन्।

विनाशपछि भन्सार कार्यालयको भवनको स्टिलको संरचना मात्रै बाँकी रहेको तस्बिरहरू सार्वजनिक भएका छन्। लीसहित चीनतर्फ अझै ठूलो संख्यामा मानिस बेपत्ता रहेको बताइएको छ।

गाउँबाट विश्वविद्यालयसम्मको संघर्ष

लीको कथा उनको मृत्युको घटनाभन्दा पनि जीवनप्रतिको संघर्षका कारण चीनमा धेरैको मन छोएको छ।

पूर्वी चीनको आन्हुई प्रान्तको ग्रामीण परिवारमा जन्मिएकी लीले सुरुमा आन्हुई युनिभर्सिटी अफ एप्लाइड टेक्नोलोजीबाट एसोसिएट डिग्री हासिल गरेकी थिइन्।

तर त्यतिमै रोकिइनन्।

आफ्नो शैक्षिक योग्यता बढाउन निरन्तर मेहनत गरिन् र आन्हुई कृषि विश्वविद्यालयबाट स्नातक तह पूरा गरिन्।

त्यसपछि उनले चीनको प्रतिष्ठित चाइना एग्रिकल्चरल युनिभर्सिटीमा भर्ना हुन कठिन प्रतिस्पर्धात्मक परीक्षा पास गरिन्। बेइजिङस्थित उक्त विश्वविद्यालयबाट उनले केही महिनाअघि मात्रै स्रोत उपयोग तथा वनस्पति संरक्षण विषयमा मास्टर्स पूरा गरेकी थिइन्।

 

त्यसपछि सुरु भयो सरकारी जागिरको अर्को कठिन यात्रा। भन्सार सेवाको जागिरका लागि भएको प्रतिस्पर्धात्मक परीक्षामा उनले करिब २ हजार प्रतिस्पर्धीलाई पछि पार्दै पहिलो स्थान हासिल गरिन्।

अन्ततः उनले वर्षौं देखेको सपना पूरा गरिन्।

तर त्यो सपना चार दिनभन्दा बढी टिक्न सकेन।

‘देशको सीमा जोगाउनेछु’

केरुङ बन्दरगाह भन्सार कार्यालयले नयाँ कर्मचारीका रूपमा लीको परिचय सार्वजनिक गर्दा उनलाई मेहनती, साहसी र भावनात्मक रूपमा स्थिर व्यक्तिका रूपमा चित्रण गरेको थियो।

फूल रोप्नु, पुस्तक पढ्नु तथा बिरालो र कुकुरसँग खेल्नु उनका रुचि थिए।

नयाँ जिम्मेवारीबारे उनले आफूले वनस्पति क्वारेन्टाइन अधिकृतका रूपमा जिम्मेवारी गम्भीरतापूर्वक पूरा गर्ने र देशको जैविक सुरक्षा जोगाउन मेहनत गर्ने प्रतिबद्धता जनाएकी थिइन्।

तर त्यो प्रतिबद्धता व्यक्त गरेको केही दिनमै उनी आफैँ सीमाबाट हराइन्।

‘चार दिनपछि फोन उठेन’

लीकी बहिनीले सामाजिक सञ्जालमा लेखेको भनाइले चीनमा धेरैलाई भावुक बनाएको छ।

उनका अनुसार परिवारले लीलाई काममा गएको चार दिनपछि फोन गर्ने प्रयास गरेको थियो। तर फोन उठेन। ‘तिमी काममा गएको चार दिनमै हामीले फोनमा तिम्रो आवाज सुन्न नपाउनेछौँ भन्ने कहिल्यै सोचेका थिएनौँ। आमा–बुबा र म अझै घरमा तिमीलाई पर्खिरहेका छौँ,’ उनकी बहिनीले सामाजिक सञ्जालमा लेखेकी छन्।

त्यसपछि बहिनीले लेखेको अर्को वाक्य झनै हृदयविदारक छ,  ‘सरकारी जागिर पाउन कति कठिन छ। कसले सोचेको थियो, तिम्रो पहिलो तलब नै पेन्सन बन्नेछ ?’ नयाँ जागिर पाएपछि लीले आफ्नो भविष्यसँगै परिवारका लागि पनि सपना बुनेकी थिइन्। उनले अर्को वर्षको वसन्त पर्वमा आमाबुबालाई बेइजिङ घुमाउन लैजाने वाचा गरेकी थिइन्। तर आमाबुबालाई बेइजिङ घुमाउने उनको त्यो सपना पूरा हुन नपाउँदै अधुरै रह्यो।

सीमामा सुरु भएको जागिर, चार दिनमै रोकिएको जीवन

अगस्ट २६ को विपत्तिपछि केरुङ क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रह्यो। चिनियाँ सञ्चारमाध्यमका अनुसार सेप्टेम्बर १ मा केरुङ बन्दरगाह भन्सार कार्यालयले बाढीपहिरोमा ज्यान गुमाएका तथा बेपत्ता कर्मचारीहरूको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको थियो।

उद्धारमा खटिएको टोलीका एक प्रमुखले अगस्ट २९ मा बेइजिङ डेलीलाई प्रभावित क्षेत्रमा प्रयोग गरिएका उपकरणबाट जीवित व्यक्तिको कुनै संकेत फेला नपरेको बताएका थिए।

ली पनि चीनतर्फ बेपत्ता भएकामध्ये एक थिइन्।

उनको कथा सार्वजनिक भएपछि चिनियाँ सामाजिक सञ्जालमा भावनात्मक प्रतिक्रियाको बाढी आएको छ।

‘उनको पूरै जीवन परीक्षाको तयारीमै बित्यो। जीवनको खुसी चार दिन मात्रै अनुभव गर्न पाइन्,’ एक प्रयोगकर्ताले लेखेका छन्।

वर्षौंको मेहनतपछि सरकारी सेवामा प्रवेश गरेकी लीले नयाँ जीवन सुरु गर्न पाएकी थिइन्। परिवारसँग भविष्यका योजना बनाएकी थिइन्। आफ्नो जिम्मेवारीप्रति प्रतिबद्धता जनाएकी थिइन्।

तर त्यो नयाँ जीवन सुरु भएको चार दिनमै बाढीले उनको सबै सपना बगाएर लग्यो।

र परिवारको प्रतीक्षामा एउटा प्रश्न मात्रै बाँकी रह्यो—जुन छोरीले अर्को वसन्तमा आमाबुबालाई बेइजिङ घुमाउने वाचा गरेकी थिइन्, उनी अब कहिल्यै घर फर्किने छैनन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७