बुबाको मृगौला बोकेर सगरमाथा चढे, अब मेसीलाई भेट्न आतुर पेम्बा
मृगौला बिरामीहरूका लागि आशाको प्रतीक बनेका पेम्बा
काठमाडौँः विकट गाउँको बाल्यकाल, दुई पटक खुट्टा भाँचिएको चोट र दुवै मृगौला फेल भएर मृत्युसँगको लामो सङ्घर्ष। यी सबै पहाडजस्ता चुनौतीलाई पन्छाउँदै २१ वर्षको प्रतीक्षा र अदम्य साहसका साथ सगरमाथाको सफल आरोहण गरेका पेम्बा शेर्पाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो एउटा विशेष सपना सार्वजनिक गरेका छन्। सगरमाथाको चुचुरोमा आफूले फहराएको लियोनेल मेसीको तस्बिरसहितको ऐतिहासिक ब्यानर फुटबल स्टार मेसीलाई नै प्रत्यक्ष भेटेर जन्मदिनको उपहार स्वरूप सुम्पिने आफ्नो चाहना रहेको उनले बताएका हुन्।
शेर्पाका अनुसार उनको मेसीप्रतिको क्रेज सन् २००६ मा सुरु भएको थियो, जब उनी पहिलोपटक विकट गाउँबाट काठमाडौँ छिरेका थिए। त्यतिबेला विश्वकपको माहोलमा टिभीको पर्दामा मेसीको जादुमयी खेल र शालीन व्यक्तित्व देखेपछि उनको किशोर मनमा सगरमाथाको चुचुरोमा मेसीको तस्बिर फहराउने सपना अङ्कुरित भएको थियो।
तर, पेम्बाको जीवनको यात्रा सहज रहेन। पटक–पटकका दुर्घटना र दुई चोटि खुट्टा भाँचिएको पीडा खेपेका उनको जीवनमा सन् २०१९ मा ठुलो बज्रपात आइलाग्यो। उनका दुवै मृगौलाले काम गर्न छोडे। तीन वर्षसम्म हप्ताको कम्तीमा तीन पटक पीडादायी डायलासिस गराउँदै मृत्युसँग लुकामारी खेलिरहेका पेम्बा भन्छन्, 'मेसिनमा “रगत” बग्दै गर्दा लाग्थ्यो अब मेरा सपनाहरू यही मेसिनभित्रै सदाका लागि सेलाउनेछन्।'
जीवनको अन्तिम किनारमा पुगेर हार मान्नै लाग्दा उनका बुबा भगवान् बनेर उभिए। बुबाले आफ्नो एउटा मृगौला दान दिएपछि डाक्टर पुकार चन्द्र श्रेष्ठको टोलीले २०२२ अक्टोबर १९ (२०२२/१०/१९) मा उनलाई नयाँ जीवन दियो।
मृगौला प्रत्यारोपण गरेको दुई महिनामै सन् २०२२ को डिसेम्बरमा मेसीले कतार विश्वकपको ट्रफी उचाले। टिभीमा मेसी रोएको र हाँसेको देख्दा अस्पतालको बेडमा रहेका पेम्बामा नयाँ आशा जाग्यो। शरीरमा बुबाको अङ्ग र मनमा मेसीको धैर्यता बोकेका उनले सोचे, 'यदि मेसीले वर्षौं सम्मको धैर्यता सहेर पनि विश्वकप जित्न सक्छन् भने, मैले किन हिमाल चढ्न नसक्ने ?'
मृगौला प्रत्यारोपण गरेको कमजोर शरीरले हिमाल चढ्न सक्दैन भन्ने समाजको सोचलाई चुनौती दिँदै उनले २०२५ मे १४ को बिहान ९:३० बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरे।
शिखर चुम्दाको क्षण सम्झँदै पेम्बाले लेखेका छन्, 'जब मैले मेरो शरीरमा बुबाको अङ्ग धड्किरहेको महसुस गर्दै हातमा मेसीको फोटो बोकेर शिखर चुमेँ, म केवल एउटा आरोही मात्र थिइनँ। म संसारभरका अङ्ग प्रत्यारोपण गरेका र लाखौँ मृगौला बिरामीहरूका लागि 'आशा, साहस र जीवित चमत्कार' को प्रतीक बनेर उभिएको थिएँ।'
सगरमाथाको शीर्षभागमा फहराएको मेसीको फोटोसहितको ब्यानर आफ्नो जीवनको सबैभन्दा अमूल्य चिज भएको बताउँदै पेम्बाले आगामी जन्मदिनको अवसरमा मेसीलाई प्रत्यक्ष भेटेर यो ब्यानर उपहार दिने इच्छा राखेका छन्। आफ्नो यो चाहना मेसीसम्म पुर्याउन उनले सामाजिक सञ्जालका सम्पूर्ण साथीहरूलाई यो सन्देश बढीभन्दा बढी सेयर गरेर मद्दत गर्न अपिल समेत गरेका छन्।
बाल्यकालमा वृद्धि हार्मोनको कमीबाट पीडित भएर पनि फुटबलको शिखरमा पुगेका मेसीलाई प्रेरणाका लागि धन्यवाद दिँदै पेम्बाले फेसबुकको अन्त्यमा लेखेका छन्, 'अस्पतालको बेडमा छटपटिएको एउटा शुभचिन्तकलाई विश्वको सबैभन्दा अग्लो हिमाल चढ्ने साहस दिनुभयो। प्रेरणाको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। आउँदै गरेको २०२६ विश्वकपको लागि तपाईँको देश शुभचिन्तक र टोलीहरू सम्पूर्णलाई हृदयदेखि धेरै–धेरै शुभकामना!'
.gif)

.png)


