कामिरिता ३२ औँ पटक सगरमाथाको शिखरमा 

आफ्नै रेकर्ड तोडेका कामिरितालाई प्रधानमन्त्रीको बधाई


२०८३ जेठ ३ आइतबार २३:१८ बजे

काठमाडौँ, ३ जेठः विश्वविख्यात हिमाल आरोही कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथाको सफल आरोहण गरेका छन् ।  सोलुखुम्बुको थामेका ५६ वर्षीय शेर्पाले आज बिहान १०ः १२ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हुन् । 

शेर्पााले विश्वको सर्वोच्च शिखरमा सबैभन्दा धेरै पुग्ने आफ्नै कीर्तिमानलाई तोड्दै नयाँ इतिहास रचेका हुन् ।  यसअघि सेभेन समिट ट्रेकमार्फत सगरमाथा चढ्दै आउनुभएका शेर्पाले यसपटक भने ‘फोर्टिन पिक्स एक्सिपिडिसन’ मार्फत सञ्चालित ‘एडभेन्चर–२४ फोर्टिन पिक्स एभरेष्ट एक्सिपिडिसन’को नेतृत्व गर्दै ऐतिहासिक सफलता हाँसिल गरेका हुन् ।

सन् १९९४ मा पहिलो पटक सगरमाथाको शिखरमा पाइला टेक्नुभएका कामिरितालाई विश्वभर ‘एभरेष्ट म्यान’का रुपमा चिन्ने गरिन्छ । फोर्टिन पिक्स एक्सिपिडिसनका संस्थापक टासी लाक्पा शेर्पाले कामिरिताको उक्त उपलब्धि नेपाल र विश्व पर्वतारोहण समुदायका लागि गौरवको विषय भएको बताए ।  ‘कामिरिताको यो उपलब्धि केबल व्यक्तिगत सफलता मात्र नभई नेपालको शान र हिमालको भावनालाई विश्वमाझ पुर्‍याउन एउटा ठूलो माध्याम हो, हामी उहाँको यो निरन्तरको यात्राको सहयोगी बन्न पाएकामा अत्यन्त गर्व गर्दछौँ,’ उनले भने । सन् १९९४ देखि सगरमाथा आरोहणको यात्रा सुरु गरेका कामिरिताले सन् २०२६ सम्म आइपुग्दा पर्वतारोहणको क्षेत्रमा अद्वितीय र अतुलनीय सफलता हासिल गरिसकेका छन् । उनलाई नेपालको राष्ट्रिय गौरव मात्र नभई विश्व पर्वतारोहण समुदायकै एक सर्वोत्कृष्ट प्रतीकको रुपमा लिइन्छ ।

प्रधानमन्त्री वालेन्द्र शाहले ३२औँ पटक सगरमाथाको सफल आरोहण गर्न सफल कामिरिता शेर्पा र ११औँ पटक सगरमाथा आरोहण गर्ने लाक्पा शेर्पालाई बधाई दिएका छन्। सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री शाहले आरोहीहरूको यो सर्वोच्च सफलताले नेपालको पर्वतीय पर्यटनलाई अझ विश्वसनीय, गौरवपूर्ण र आकर्षक बनाउँदै अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचानलाई अझ उज्यालो बनाउने विश्वास लिएको बताएका हुन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७