सांसद मिङ्मा डेभिड शेर्पाले सगरमाथाको चुचुरोमा फहराए संघीय संसद्को लोगो


२०८३ जेठ १३ बुधबार १५:०८ बजे

काठमाडौँ, ११ जेठ :  प्रतिनिधिसभा सदस्य एवं विश्वविख्यात हिमाल आरोही मिङ्मा डेभिड शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । 'संसददेखि शिखरसम्म' भन्ने मूल नाराका साथ आरोहणमा निस्किएका सांसद शेर्पाले आज बिहान ५:४० बजे सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेकेका हुन् । आरोहणका क्रममा उनले नेपालको संघीय संसद् (प्रतिनिधिसभा) को आधिकारिक लोगोलाई विश्वकै सर्वोच्च स्थानमा फहराएर नयाँ इतिहास रचेका छन् । नेपालको संसदीय इतिहासमा बहालवाला सांसदले संसद्को लोगो बोकेर सगरमाथाको सफल आरोहण गरेको यो नै पहिलो ऐतिहासिक अवसर हो ।

संसद्को गरिमालाई सर्वोच्च शिखरमा पुर्‍याएका सांसद शेर्पा हिमाल आरोहण क्षेत्रका एक स्थापित र विश्वविख्यात नाम हुन् । आजको ऐतिहासिक आरोहणसहित उनले सगरमाथाको चुचुरोमा मात्रै ८ पटक पाइला टेकिसकेका छन् भने समग्रमा ८,००० मिटरभन्दा माथिका शिखरहरूमा ३३ पटक सफल आरोहण गरिसकेका छन् । उनले मात्र ३० वर्षको उमेरमा संसारका ८,००० मिटरभन्दा माथिका सबै १४ वटा अग्ला हिमालहरू सफलतापूर्वक चढेर विश्वकै सबैभन्दा कम उमेरको आरोहीको रूपमा गिनिज बुकमा कीर्तिमान कायम गरेका थिए । अर्का कीर्तिमानी आरोही निर्मल पुर्जाको चर्चित आरोहण अभियान 'प्रोजेक्ट पोसिबल' मा जोडिएर ९ वटा हिमाल चढेका शेर्पा हिमाल आरोहणमा मात्र नभई एक कुशल उद्धारकर्ताका रूपमा समेत चिनिन्छन् । उनले सगरमाथाको अत्यधिक जोखिमयुक्त क्षेत्र 'डेथ जोन' र धवलागिरि हिमालमा हेलिकप्टरमा झुन्डिएर (लङलाइन रेस्क्यु) कयौँ साहसिक उद्धार कार्यहरू गरेर धेरैको ज्यान जोगाएका छन् ।

मिङ्मा डेभिडको नाम विश्वको दोस्रो सर्वोच्च तथा प्राविधिक रूपमा अत्यन्तै कठिन मानिने केटू हिमालसँग मुख्य रूपमा जोडिएको छ, जहाँ उनले अनौठा र दुर्लभ कीर्तिमानहरू बनाएका छन् । मृत्युको हिमाल मानिने केटूको चुचुरोमा सबैभन्दा धेरै—६ पटक—पुग्ने उनी विश्वकै एकमात्र आरोही हुन् । सन् २०२१ को जाडोयाममा इतिहासमै पहिलो पटक भएको केटूको ऐतिहासिक शिखर आरोहण गर्ने नेपाली दलमा समेत उनी सहभागी थिए ।

सामान्यतः ४ देखि ५ दिन लाग्ने केटू आरोहण उनले आधार शिविरदेखि चुचुरोसम्म मात्र १४ घण्टा २० मिनेटमा पूरा गरेका थिए, जतिबेला उनले एकै याममा दुई पटक केटूको आरोहण गरेर कीर्तिमान रचेका थिए । यद्यपि, केटूमा सबैभन्दा छिटो १२ घण्टा २० मिनेटमा चढेको कीर्तिमान भने नेपालकै छिरिङ शेर्पाको नाममा छ । प्रत्येक चार जना आरोहीमध्ये एक जनाको ज्यान जाने भयावह तथ्याङ्क रहेको केटू हिमालमा उनले मौसम र परिस्थितिको प्रतिकूलताका कारण वसन्तयाममा तीन पटक आफ्नो आरोहण बीचैमा रद्द गरेर उच्च परिपक्वता समेत प्रदर्शन गरेका थिए ।

सन् २०१० मा सगरमाथाबाट सुरु भएको उनको यो साहसिक यात्रा अनेकौँ उतारचढाव, कठोर संघर्ष र व्यक्तिगत क्षतिहरूले भरिएको छ । सन् २०१४ मा सगरमाथाको खुम्बु आइसफलमा गएको विनाशकारी हिमपहिरोमा परी उनलाई आरोहण सिकाउने गुरु दोर्जे खत्रीको मृत्यु भएको थियो भने सन् २०१५ को महाभूकम्प र हिमपहिरोमा उनले आधार शिविरमै आफ्ना हितैषी साथीहरू गुमाएका थिए । यी लगातारका दुर्घटनाबाट विचलित भएर उनले एकपटक आरोहण क्षेत्र नै छोड्ने सोच बनाएका थिए, तर हिमालप्रतिको अगाध लगावका कारण उनले यसै क्षेत्रमा निरन्तरता दिए ।

व्यक्तिगत जीवनमा उनले आफ्ना भाइ कर्साङ तेञ्जिङ शेर्पालाई समेत काठमाडौँस्थित आफ्नै कार्यालयमा लागेको अकल्पनीय आगलागीमा परेर गुमाउनुपरेको थियो । हिमालको अनपेक्षित मौसम र प्राविधिक जटिलतालाई नजिकबाट बुझेका सांसद मिङ्मा डेभिड शेर्पा हिमाल चढ्नु जत्तिकै महत्त्वपूर्ण कला, आवश्यक पर्दा आरोहण रद्द गरेर सुरक्षित रूपमा फर्कनुलाई मान्छन् र यही हिमाली अनुभवलाई अब उनी देशको नीति निर्माण तहमा उपयोग गर्ने योजनामा छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७