७ हजार मिटरभन्दा माथिको हिमाल नचढी सगरमाथा आरोहण गर्न नपाइने व्यवस्था हुँदै
काठमाडौं । सरकारले अब ७ हजार मिटरभन्दा माथिको कुनै हिमाल आरोहण नगरी सिधै सगरमाथा आरोहण गर्न नपाइने व्यवस्था ल्याउने तयारी गरेको छ।
सोमबार राष्ट्रियसभामा आफ्नो मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नयाँ पर्यटन ऐन तथा नियमावलीमा यस्तो प्रावधान समावेश गर्न लागिएको जानकारी दिए।
मन्त्री पौडेलले सगरमाथामा आरोहीको चाप उल्लेखनीय रूपमा बढ्दै गएको भन्दै यसको दीर्घकालीन संरक्षण र सुरक्षित व्यवस्थापनका लागि अनुभव भएका आरोहीलाई मात्रै सगरमाथा चढ्न दिने व्यवस्था आवश्यक रहेको बताए।
उनले नेपालको पर्यटनलाई हिमालमा मात्रै सीमित नराखी धार्मिक, सांस्कृतिक, प्राकृतिक र साहसिक पर्यटनलगायत अन्य क्षेत्रको प्रवर्द्धनमा पनि जोड दिनुपर्ने उल्लेख गरे। एउटै क्षेत्रमा मात्र निर्भर हुँदा पर्यटन दिगो नहुने भएकाले पर्यटनका विविध आयाम विकास गर्ने सरकारको योजना रहेको उनको भनाइ छ।
मन्त्री पौडेलले लक्ष्यअनुसार पर्यटक भित्राउन चुनौती भए पनि हाल भारतीय पर्यटकको आगमन उल्लेखनीय रूपमा बढिरहेको जानकारी दिए। पर्यटन प्रवर्द्धनका लागि सरकार, निजी क्षेत्र, गैरसरकारी संस्था, दातृ निकाय तथा नेपाली डायस्पोरासँग सहकार्य गरेर अघि बढ्ने उनले बताए।
.gif)

.png)

