दैलेखको गुराँस गाउँपालिकाका पूर्वप्रशासकीय अधिकृतसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार आचार्य र निर्माण व्यवसायी सुवास कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
कर्णाली नदी र लोहरेखोला क्षेत्रबाट ढुङ्गा, बालुवा तथा गिट्टी उत्खननसम्बन्धी ठेक्कामा २२ लाख ४४ हजार ५०० रुपैयाँ राजस्व हिनामिना गरेको आरोपमा उनीहरूविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।
अख्तियारका अनुसार आर्थिक वर्ष २०७८/७९ को उक्त ठेक्कामा आचार्य र आर.के. कन्स्ट्रक्सनका सञ्चालक कार्कीबीच मिलेमतो भएको देखिएको छ। अनुसन्धानबाट बैंक ग्यारेन्टी नलिई तथा नियमअनुसार बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) दाखिला नगरी सम्झौता गरिएको खुलेको जनाइएको छ।
सम्झौताबमोजिमको रकम र राजस्व सरकारलाई नबुझाई गाउँपालिकालाई हानी नोक्सानी पुऱ्याएको पुष्टि भएपछि उनीहरूलाई प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ।
अख्तियारले दुवै प्रतिवादीसँग जनही २२ लाख ४४ हजार ५०० रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार जरिवाना र कैद सजायको मागदाबी गरेको छ। मुद्दा विशेष अदालतमा दर्ता गरिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।
.gif)

.png)

