मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम


२०८२ चैत ३ मंगलबार ०९:०७ बजे

काठमाडौँ : म्याग्दीमा सुक्खायाम सुरु भएसँगै वनजङ्गलमा डढेलो लाग्ने जोखिम बढ्दै गएको छ। आगोको जथाभावी प्रयोगका कारण वन क्षेत्रमा आगलागीका घटना बढ्ने गरेको सरोकारवालाले बताएका छन्।

डिभिजन वन कार्यालयका प्रमुख डिभिजनल वन अधिकृत वसन्तकेशव अधिकारीका अनुसार अधिकांश डढेलो मानवीय लापरवाहीका कारण हुने गरेको पाइएको छ। “घाँस पलाउने बाहना, अवैध सिकार र आगोको जथाभावी प्रयोगले वनजङ्गलमा डढेलोको जोखिम बढेको हो”, उनले भने, “खोरीया फडानी गरी खेती गर्न, हिंस्रक वन्यजन्तु धपाउन, वन्यजन्तुको सिकार, वन अपराध लुकाउन, वन कर्मचारी वा छिमेकी वन उपभोक्ता समूहसँगको रिसइवीका कारण डढेलो लगाउने गरेको पाइएको छ ।”

फागुन, चैत, वैशाख र जेठ महिनामा डढेलोका घटना बढी हुने गरेका छन्। यसले रुखबिरुवा, जडीबुटी, वन्यजन्तु तथा पन्छीको वासस्थानमा क्षति पुर्‍याउने गरेको छ। विगतमा डढेलो नियन्त्रणका क्रममा मानवीय क्षति समेत भएको थियो। जोखिमका आधारमा म्याग्दी जिल्ला नेपालका ७७ जिल्लामध्ये ३०औँ स्थानमा रहेको वन कार्यालयले जनाएको छ।

डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/८० मा १०२ स्थानमा लागेको डढेलोले ७९० हेक्टर वनमा क्षति पुगेको थियो। आर्थिक वर्ष २०८०/८१ मा १४५ स्थानमा डढेलो लाग्दा ८९० हेक्टर र आर्थिक वर्ष २०८१/८२ मा ११५ स्थानमा लागेको डढेलोबाट ८०५ हेक्टर वन प्रभावित भएको छ।

गोठालाले घाँस राम्रो पलाउने विश्वासमा जङ्गल तथा भिरालो क्षेत्रमा आगो लगाउने चलन रहेको छ भने सिकारीले वन्यजन्तु र पन्छी भगाउन पनि डढेलो लगाउने गरेका छन्। चालु आर्थिक वर्षमा डढेलोबाट भएको क्षतिको विवरण सङ्कलन सुरु गरिएको वन अधिकृत चन्द्रमणि सापकोटाले जानकारी दिए।

डढेलो रोकथाम र नियन्त्रणका लागि जिल्लास्तरमा कार्ययोजना तयार गरी सुरक्षा निकाय, प्रशासन, स्थानीय तह र सामुदायिक वन उपभोक्ता समूहसँग सहकार्य भइरहेको उनले बताए। डढेलो हुन नदिन प्रतिकारात्मक र लागेको डढेलो नियन्त्रण गर्न नियन्त्रणात्मक रणनीति अपनाइएको छ।

वन उपभोक्ता समूह र विद्यालयस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनुका साथै सुरक्षा निकायलाई आवश्यक सामग्री उपलब्ध गराइएको वन अधिकृत शान्तिकुमारी शाहीले बताइन्। उनका अनुसार वन्यजन्तुलाई पानीका लागि बस्तीमा आउन नपरोस् भनेर यस वर्ष छवटा सामुदायिक वनमा पोखरी निर्माण गर्ने तयारी गरिएको छ।

जिल्लामा कुल दुई लाख २९ हजार ७०६ हेक्टर क्षेत्रफल वनले ओगटेको छ। यसमध्ये ३६.७६ प्रतिशत वन, १.८५ प्रतिशत झाडी र २१.२७ प्रतिशत चरन क्षेत्र रहेको छ। म्याग्दीमा तीन सय ११ वटा सामुदायिक वन उपभोक्ता समूह सक्रिय छन्।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७