पुनर्गठनको नाममा ओली हटाउनुपर्छ भन्ने पात्र र प्रवृत्तिलाई दुत्कार्नुपर्छ: शेरधन राई


२०८३ श्रावण ३१ आइतबार २३:०४ बजे

झापा :  नेकपा (एमाले) का सचिव एवं कोशी प्रदेश इन्चार्ज शेरधन राईले पार्टी पुनर्गठनका नाममा अध्यक्ष केपी शर्मा ओलीलाई हटाउनुपर्छ भन्ने पात्र र प्रवृत्तिलाई दुत्कार्न आह्वान गरेका छन् । ‘पुनर्गठन भनेको केपी ओली हटाउने मिसन मात्रै हो भन्ने स्थिति देखा पर्दैछ, यो सबैभन्दा खतरनाक कुरा हो,’ राईले भने ।

झापामा आयोजित पार्टी जागरण अभियान शुभारम्भ कार्यक्रममा बोल्दै राईले अहिले पार्टी अध्यक्ष ओलीलाई हटाउने उद्देश्यसहित ‘खतरनाक खेल’ भइरहेको दाबी गरे । उनले पार्टीलाई बलियो, व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने समयमा नेतृत्व परिवर्तनलाई मात्रै केन्द्रमा राखेर गतिविधि गर्नु गलत भएको बताए ।

राईले पार्टी सुधारका लागि सुझाव संकलन गर्ने र कार्यकर्ताको भावना बुझ्ने क्रममा ‘पुनर्गठन भनेको केपी ओली हटाउने मिसन मात्रै हो’ भन्ने बुझाइ पनि देखिएको बताए । उनले यस्तो सोच र प्रवृत्ति पार्टीका लागि सबैभन्दा खतरनाक भएको टिप्पणी गरे ।

उनले भने, ‘हामीले यतिबेला पार्टीलाई बहुआयामिक सेक्टरमा सुधार गर्नका निम्ति सुझावहरू संकलन गर्दै गर्दा, कार्यकर्ताहरूको भावना बुझ्दै गर्दा, पुनर्गठन भनेको त केपी ओली हटाउने मिसन मात्रै हो भन्ने स्थिति पनि देखा पर्दैछ । यो सबैभन्दा खतरनाक कुरा हो ।’

राईले अध्यक्ष ओलीलाई हटाउने अभियानमा लागेका व्यक्ति र प्रवृत्तिलाई पार्टी कार्यकर्ताले अस्वीकार गर्नुपर्ने आह्वानसमेत गरे । ‘यस्ता खालका पात्र, प्रवृत्ति र यस प्रकारको एउटा मिसनलाई हामीले दुत्कार्नुपर्छ,’ उनले भने, ‘त्यसका लागि म तपाईंहरूलाई आह्वान गर्न चाहन्छु ।’

उनले पछिल्लो राजनीतिक घटनाक्रमलाई स्मरण गर्दै भदौ २३ र २४ गतेको प्रसंगसमेत उठाए । त्यसबेला पार्टी अध्यक्षसमेत रहेका तत्कालीन प्रधानमन्त्री ओली कहाँ छन् भन्ने विषयमा आफूहरू अन्योलमा परेको र पार्टीभित्रैबाट नेतृत्व परिवर्तनको आवाज उठ्न थालेको उनको भनाइ थियो ।

राईले निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भइनसक्दै पार्टीभित्रैबाट ओलीलाई हटाउने कुरा सुन्नुपरेको दाबी गरे । उनका अनुसार निर्वाचनको परिणाम र त्यसपछिको राजनीतिक अवस्थाबारे स्पष्ट निष्कर्षमा पुग्नुअघि नै नेतृत्व परिवर्तनको बहस अघि सारिनु स्वाभाविक थिएन । उनले भने, ‘चुनावको नतिजा नआइसक्दै केपी ओलीलाई हटाउने कुरा पार्टीभित्रैबाट हामीले सुन्नुपर्‍यो ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७