यो कुनै षड्यन्त्र होइन, एमालेको हठलाई जनताले ‘रिजेक्ट’ गरेको हो : सुरेन्द्र पाण्डे


२०८२ फाल्गुण ३० शनिबार २१:२१ बजे

काठमाडौं :  नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेले प्रतिनिधिसभाको निर्वाचनको नतिजा कुनै षड्यन्त्र नभई एमालेको वर्तमान सञ्चालन पद्धति र हठलाई जनताले पूर्ण रूपमा ‘रिजेक्ट’ गरेको सन्देश भएको बताएका छन् । अब पनि आफ्नो तरिका परिवर्तन नगरी अरू असफल होलान् र फेरि हाम्रो पालो आउला’ भन्ने सोचमै अल्झिरहे त्यो पार्टी र देश दुवैका लागि घातक हुने उनको भनाई छ । 

शनिबार फेसबुकमा लामो स्टाटस लेख्दै नेता पाण्डेले भनेका छन्, ‘यो कुनै षड्यन्त्र होइन, यो एमालेको वर्तमान सञ्चालन पद्धति र हठलाई जनताले पूर्ण रूपमा ‘रिजेक्ट’ गरेको सन्देश हो। अब पनि हामीले आफ्नो तरिका बदल्ने आँट गरेनौँ र ‘अरू असफल होलान् र फेरि हाम्रो पालो आउला’ भन्ने सोचमै अल्झिरह्यौँ भने, त्यो पार्टी र देश दुवैका लागि घातक हुनेछ।’ 

पाण्डेले ठुलो पराजयपछि नेतृत्वसँग नैतिक आधार बाँकी नरहेको टिप्पणी गरेका छन् । ‘जब जनताले मतपत्रबाटै अस्वीकारको कठोर फैसला सुनाइसकेका छन्, तब आफ्ना कार्यकर्तालाई सत्य बोलेको आधारमा कारबाहीको धम्की दिनु कतिसम्म बुद्धिमानी होला ?’ पाण्डेले प्रश्न गर्दै लेखेका छन्, ‘यति ठूलो नैतिक पराजयपछि पनि अरूलाई कारबाही गर्ने नैतिक आधार अब नेतृत्वसँग कति बाँकी छ ?’

एमालेको पूर्ण संरचना र कार्यशैली रिसेट गर्नुपर्ने बेला आइसकेको उनले बताएका छन् । ‘यस्तो गम्भीर मोडमा पनि सबै ठीक थियो, हामीलाई त फसाइयो भन्ने निष्कर्ष निकाल्नु आफैँलाई धोका दिनु हो,’ उनले लेखेका छन् । जनताले दिएको मतको मात्रा हेर्दा फसाएको वा अन्तर्घात गरेको भन्ने कुरा जनताको अपमान भएको नेता पाण्डेले टिप्पणी गरेका छन् ।

‘मानौँ, कसैले फसायो होला, अन्तर्घात भयो होला । तर, अन्तर्घातले ५-१० हजार मत तल-माथि होला । देखिएको ४०-५० हजारको मतान्तरलाई फसाइएको भनेर व्याख्या गर्नु जनताको विवेकको अपमान हो,’ पाण्डेले लेखेका छन् ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७