सुर्खेतमा किशोरीको हत्या प्रकरण : चार नाबालक पक्राउ


२०८२ फाल्गुण २६ मंगलबार १४:४८ बजे

काठमाडौँ : सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया किशोरी इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरकै चार नाबालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो। पक्राउ परेका सबै १८ वर्षमुनिका रहेको प्रहरीले जनाएको छ।

पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी इनिसाको फागुन २३ गते मृत्यु भएको थियो।

प्रहरीका अनुसार उनी सोही दिन बिहान वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वन क्षेत्रमा बेहोस अवस्थामा फेला परेकी थिइन्। स्थानीयले उनलाई तत्काल प्रदेश अस्पताल कालागाउँ पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

इनिसा वीरेन्द्रनगर–६ मा रहेको उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिइन्। मृतकका आफन्तले सामूहिक बलात्कारपछि हत्या भएको आशंकासहित फागुन २४ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा डिएसपी मोहनजंग बुढथापाका अनुसार प्रहरीले घटनाको दिन नै एक १६ वर्षीय किशोरलाई पक्राउ गरेको थियो। त्यसपछि थप अनुसन्धानका क्रममा फागुन २४ गते अन्य तीन जनालाई पनि नियन्त्रणमा लिइएको उनले बताए।

परिवारका अनुसार इनिसा फागुन २३ गते बिहान करिब ६ बजे ‘ट्युसन पढ्न जान्छु’ भन्दै घरबाट निस्किएकी थिइन्। उनी प्रायः बिहान ८ बजेसम्म घर फर्किने गर्थिन्। तर सो दिन ९ बजेसम्म पनि घर नफर्किएपछि आमाले फोन गर्दा मोबाइल स्विच अफ भएको थियो।

केही समयपछि अज्ञात नम्बरबाट फोन गरेर छोरी शहीद पार्क नजिकको जंगलमा बेहोस अवस्थामा रहेको जानकारी दिइएको परिवारले जनाएको छ।

‘केही समय पछि तपाईँकी छोरी शहीद पार्कको जङ्गलमा बेहोस अवस्थामा छिन् । छिटो आइहाल्नुपर्‍यो भनेर एउटा नम्बरबाट फोन आयो,’ इनिसाकी आमा भन्छिन् ।

जनजागरण सामुदायिक वनसँग जोडिएको शहीद पार्क क्षेत्रमा पुग्दा छोरी बेहोस अवस्थामा रहेको र शरीरभरि रगत लागेको देखिएको उनी बताउँछिन्। छोरीको अवस्था देखेपछि आफू पनि त्यहीँ बेहोस भएको उनको भनाइ छ । 

त्यसपछि घटनास्थलमा पुगेका अन्य व्यक्तिहरूले इनिसालाई प्रदेश अस्पताल कालागाउँ पुर्‍याएका थिए। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या गरिएको दाबी गर्दै कर्तव्य ज्यान तथा जबरजस्ती करणीसम्बन्धी जाहेरी दिएका छन्।

प्रहरीले घटनाको गम्भीरताका साथ अनुसन्धान भइरहेको जनाएको छ। पोस्टमार्टम रिपोर्ट आएपछि घटनाबारे थप निष्कर्षमा पुगिने जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७