मौन अवधिमा सुरक्षा व्यवस्था चुस्त : गृहमन्त्री अर्याल


२०८२ फाल्गुण १८ सोमबार २०:५५ बजे

काठमाडौँ : गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन प्रचारप्रसार निषेध (मौन) अवधिमा सुरक्षा व्यवस्था थप चुस्त बनाइएको बताएका छन्।

निर्वाचन आयोगको बहादुर भवनस्थित कार्यालयमा निषेध अवधि सुरु हुनु अघि आयोजित छलफलमा उनले प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी, सुरक्षा प्रबन्ध र आचारसंहिताको कार्यान्वयनबारे जानकारी दिँदै ढुक्क भएर मतदान गर्न सकिने वातावरण बनाइएको बताए।

गृहमन्त्री अर्यालले सबै सुरक्षा निकाय र सरोकारवाला संस्थाबीच समन्वय गरेर निर्वाचन सुरक्षालाई भरपर्दो र प्रभावकारी बनाइएको उल्लेख गरे।

सो अवसरमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग सुरक्षा तथा आचारसंहिता कार्यान्वयनबारे छलफल भएको थियो। मन्त्रालय र आयोगका पदाधिकारीहरूको उपस्थितिमा निर्वाचनको समग्र तयारी, मतपेटिका ढुवानीलगायत व्यवस्थाबारे जानकारी आदानप्रदान गरिएको जनाइएको छ।

निर्वाचन कार्यतालिकाअनुसार फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ। मौन अवधि भने आज राति १२ बजेदेखि सुरु हुँदैछ।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले मौन अवधिमा आचारसंहिताको सूक्ष्म अनुगमन गरिने र उल्लङ्घन भए कानुनअनुसार कारबाही गरिने बताए। आयोगले अनुगमन अधिकृतलाई आवश्यक निर्देशन दिइसकेको जनाएको छ।

प्रचारप्रसार निषेध अवधिमा सभा, सम्मेलन, अन्तरक्रिया तथा कुनै पनि माध्यमबाट गरिने निर्वाचन प्रचार निषेध गरिएको छ। सञ्चारमाध्यमले पनि दल वा उम्मेदवारको पक्ष–विपक्षमा सामग्री प्रकाशन गर्न नपाउने व्यवस्था आचारसंहितामा उल्लेख छ।

गृहमन्त्री अर्याल र कार्यवाहक प्रमुख भण्डारीले यसअघि अति संवेदनशील र संवेदनशील मतदान केन्द्रहरूको स्थलगत अनुगमनसमेत गरेका थिए। समग्र शान्ति–सुरक्षा अवस्थाबारे आयोगले सम्बन्धित निकायबाट नियमित जानकारी लिइरहेको जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७