१८ नेपालीलाई आममाफी दिन म्यानमार तयार


२०८२ फाल्गुण १३ बुधबार १८:१६ बजे

काठमाडौँ : म्यानमारले १८ नेपाली कैदीलाई आममाफी दिने विषयमा सकारात्मक सन्देश नेपाललाई दिएको छ ।

परराष्ट्र मन्त्रालयको दक्षिणपूर्वी एसिया तथा प्यासिफिक महाशाखा प्रमुख प्रकाश अधिकारीले बुधबार (फागुन १३) पत्रकार सम्मेलनमा जानकारी दिँदै भने, 'म्यानमार सरकारले त्यहाँको एक अदालतले एक वर्षको कैद सजाय सुनाएका १८ जनालाई सजाय माफी दिने कुरामा सकारात्मक रहेको सन्देश पठाएको छ। यसलाई औपचारिकता दिन लिखित पत्र पठाउन म्यानमारले अनुरोध गरेको छ।' अहिले परराष्ट्र मन्त्रालय पत्र पठाउने प्रक्रियामा रहेको अधिकारीले बताए।

गत माघको तेस्रो साता म्यानमारको एक अदालतले दलाल र एजेन्टको प्रलोभनमा म्यानमार पुगेका १८ नेपालीलाई एक वर्षको श्रमसहितको कैद सजाय सुनाएको थियो ।

त्यसपछि म्यानमारस्थित नेपाली राजदूत हरिषचन्द्र घिमिरेले उनीहरूलाई सजाय माफी दिलाउने पहल गरेका थिए। म्यानमारका प्रतिनिधिले नेपाल–म्यानमार सम्बन्ध सुमधुर रहेको स्मरण गराउँदै नेपालीलाई सजाय माफी दिन सकारात्मक रहेको जनाएका थिए । 

म्यानमार सरकारले अवैध रूपमा प्रवेश गर्ने नेपालीलाई मात्र पक्राउ गरेको उल्लेख गरेको छ। अवैध प्रवेशका १८ नेपालीसहित १७ देशका ४९५ जनालाई नियन्त्रणमा लिएको जानकारी दूतावासलाई दिएको थियो । 

दलाल र एजेन्टले नेपालीलाई म्यानमारको म्यावडी क्षेत्रमा सञ्चालन हुने गैरकानुनी स्क्याम सेन्टरमा काम लगाउने गरेको पाइयो। केही साताअघि थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासबाट उद्धार टोली उनीहरूलाई उद्धार गर्न म्यानमार बोर्डर नजिक पुगेको थियो। म्यावडीबाट थाइल्यान्ड सीमानजिक आइपुगेका उनीहरूलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको थियो । 

मानव तस्करहरूले विभिन्न प्रलोभनमा पारेर म्यानमार पुर्‍याउने क्रम रोकिएको छैन। म्यानमार र थाइल्यान्डस्थित नेपाली दूतावासले पटक–पटक चेतावनी जारी गर्दै आएको भए पनि यस्तो प्रवृत्ति जारी छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७