रास्वपाले चुनाव नजित्ने भएपछि रास्वपा अराजकतर्फ उन्मुख : केपी ओली
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनाव नजित्ने निष्कर्ष निकालेको र त्यसअनुसार अराजक गतिविधि गर्न थालेको आरोप लगाएका छन् ।
शनिबार भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ओलीले रास्वपाका पछिल्ला गतिविधि अभद्र, अमर्यादित र अशोभनीय खालका देखिएको बताए ।
‘मलाई के लाग्छ भने, रास्वपाले चुनाव जितिन्नँ भन्ने निष्कर्ष निकालेको जस्तो लाग्छ । त्यस कारण उसले कतै झण्डा जलाउने, अत्यन्तै अभद्र, अमर्यादित, अशोभनीय खालका व्यवहार देखाउने, तनाव बढाउन खोज्ने, त्यस प्रकारको कुराहरू देखिन थालेको छ,’ ओलीको भनाइ छ ।
उनले रास्वपा चुनाव भाँड्ने स्थितिमा पुगेको अनुमान गर्न सकिने दाबी गरे।
‘त्यसर्थ उनीहरू चुनाव भाँड्ने स्थितिमा पुगेको यसै अनुमान गर्न सकिन्छ । यसको अर्थ हो, उनीहरू आफ्नो पक्षमा नतिजा आउँछ भने चुनाव लड्ने, पक्षमा नतिजा आउँदैन भने चुनाव लड्न नदिने, खालको प्रवृत्तिमा देखिन्छ । मैले केही दिनयताका घटनाक्रम देख्दा रास्वपाले चुनाव भाँड्न खोजेको, जस्तो देखिन्छ,’ ओलीले भने ।
निर्वाचन बलजफतीको विषय नभएको उल्लेख गर्दै उनले स्वच्छ प्रतिस्पर्धा, शान्तिपूर्ण वातावरण र निष्पक्ष, धाँधलीरहित चुनाव हुनुपर्ने बताए।
‘निर्वाचन भनेको बलजफ्ती गर्ने विषय होइन । नियम कानुनभित्र स्वच्छ प्रतिस्पर्धा, शान्तिपूर्ण वातावरण र निष्पक्ष, धाँधलीरहित चुनाव हुनुपर्छ । शान्तिपूर्ण वातावरणमा हुनुपर्छ,’ ओलीले भने, ‘मतदाताले निर्भय वातावरणमा बिना कुनै डिस्टबेन्स आफ्नो स्वेच्छाको मत निर्बाध दिन पाउनुपर्छ । त्यो मात्रै निर्वाचन हुन्छ ।’
मतदानअघिदेखि मतगणना र परिणाम घोषणा हुँदासम्म सम्पूर्ण प्रक्रिया पारदर्शी हुनुपर्ने विषय आफ्नो पार्टीले निरन्तर उठाउँदै आएको पनि उनले बताए।
.gif)

.png)

