शंकास्पद वस्तु विस्फोट हुँदा पिकनिक गएका चार बालक घाइते
काठमाडौँ : सप्तरीको रुपनी गाउँपालिका–६ स्थित दुधैला खोलामा शनिबार भएको शंकास्पद वस्तुको विस्फोटमा चार जना बालक घाइते भएका छन् ।
वनभोजका लागि खोलातर्फ गएका बालकहरूले रकेटजस्तै देखिने एक वस्तुलाई खेलौना ठानी दाउरासँगै जम्मा गरी चुल्हो नजिक राख्दा विस्फोट भएको प्रहरीले जनाएको छ।
विस्फोटबाट स्थानीय साजन आले मगरका ११ वर्षीय छोरा साहस, मनोज थापा मगरका ९ वर्षीय छोरा प्रशिस, कर्णबहादुर थापा मगरका १६ वर्षीय छोरा कबिर र पदमबहादुर विकका १३ वर्षीय छोरा सुरज घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी डम्बरबहादुर पुरीका अनुसार विस्फोटका छर्रा लागेर साहस र प्रशिसको खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ भने कबिर र सुरजको शरीरका विभिन्न भागमा चोट लागेको छ।
उनका अनुसार घाइते चारै जनालाई सुरुमा मधेश प्रदेश प्रहरी अस्पताल, रुपनीमा उपचारका लागि लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि छिन्नमस्ता अस्पताल, राजविराज रेफर गरिएको छ ।
डिएसपी पुरीले भने, ‘बालकले खोलामा भेटिएको रकेट जस्तो देखिने वस्तुलाई खेलौना ठानेर राखेका रहेछन्, सोही वस्तु विस्फोट भएको प्रारम्भिक बुझाइ छ।’ उनले घटनामा प्रयोग भएको शंकास्पद वस्तु र विस्फोटको कारणबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।
प्रहरीका अनुसार घाइते बालकहरूको स्वास्थ्य अवस्था हाल सामान्य रहेको छ ।
.gif)

.png)

