महाकाली सिँचाइको अनुगमनमा मन्त्री घिसिङ, भने- पानी छोड्ने विषयमा भारतसँग कुरा भइरहेको छ
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले कञ्चनपुरको ब्रम्हदेवस्थित टनकपुर ब्यारेजेको निरीक्षण गरेका छन् ।
राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत टनकपुर ब्यारेजको बुधबार बिहान निरीक्षण गर्दै मन्त्री घिसिङले नेपालतर्फ सिँचाइ सुविधाका लागि नहरमा पानी छोड्नका लागि भारतसँग आवश्यक पहल र समन्वय भइरहेको बताए ।
पानी छोड्ने विषयमा भारतीय पक्षसँग दुई देशका संयन्त्र एवम् द्विपक्षीय भेटमा निरन्तरता छलफल गरिनुका साथै पत्राचारसमेत भइरहेको उनको भनाई थियो ।
उनले कञ्चनपुरका सुख्खाग्रस्त करिब पाँच हजार हेक्टर जमिनमा तत्काल सिँचाइ सुविधा उपलब्ध गराउन नेपालतर्फ मुख्य नहर र शाखा तथा प्रशाखा नहर बनिसकेकाले भारतकातर्फबाट पानी छोड्ने निर्णय आउने विश्वाससमेत व्यक्त गरे।
नेपाल–भारतबीच एकीकृत महाकाली सन्धिअनुरुप नेपालले हिउँदयामा तीन सय क्यूसेक र वर्षायाममा एक हजार क्यूसेक पानी पाउने व्यवस्था रहेको छ।
सन्धि बमोजिम सिँचाइ सुविधा उपलब्ध गराउन संरचना बनिसकेका छन्।
करिब ९ अर्ब लगानी भइसक्दा पनि प्रतिफल पाउन नसकेको भन्दै आलोचना हुने गरेको छ। पानी सञ्चालन नभएकाले निर्मित संरचना बिग्रिन थालेको आयोजनाले जनाएको छ ।
महाकाली सिँचाइ आयोजनामार्फत सतह सिँचाइबाट २८ हजार, भूमिगत सिँचाइबाट ५ हजार गरी ३३ हजार हेक्टर क्षेत्रमा दिगो सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य रहेको छ। आयोजनाको कूल अनुमानित लागत ३५ अर्ब रुपैयाँ रहेको छ।
.gif)

.png)

