कमेडी र रोमान्सको साथसाथै परम्पराको झलक : चलचित्र ‘लोकन्ती’को कथा
काठमाडौँ : रञ्जित रानाको निर्देशनमा बनेको नेपाली चलचित्र ‘लोकन्ती’ प्रेम, पारिवारिक सम्बन्ध र सामाजिक परम्परामा आधारित छ । चलचित्रले विशेष गरी नेपाली विवाह संस्कार, लोकन्ती परम्परा र प्रेम-सम्बन्धमा उत्पन्न द्वन्द्वलाई रोचक तरिकाले प्रस्तुत गरेको छ।
फिल्मको कथा सागर र सान्नानीको बाल्यकालको मित्रता र हिमालले सान्नानीलाई पहिलो नजरबाट गरेको एकोहोरो प्रेमबाट सुरु हुन्छ । हिमाल, जो सान्नानीलाई पहिलो नजरबाटै मन पराउँछन् । तर सान्नानीको बालसखा साथी सागर छन् । जसमा निर्देशकले कथाभरि प्रेम र मित्रताको मिश्रणमा राम्रो कथा बुनेर दर्शकलाई केन्द्रित गर्न कोसिस गरेका छन् ।

सान्नानीकी दिदी शान्तिको विवाह केदारसँग हुने क्रममा हिमाल र सान्नानी नजिक हुन पाउँछन् । चाहनाले भन्दा पनि सोल्टी-सोल्टिनी भएकाले संस्कारले नजिक बनाउँछन् । विवाहको परम्परागत रीतिरिवाज, जसमा सोल्टिनी र सोल्टीबीचको जिस्की-मजाक र नजिकिने सिन समावेश गरिएको छ । सिनले कथामा रमाइलो मोड थप्छ।
विवाह पश्चात्,सानैदेखिको साथी सागर र सोल्टी हिमालले सान्नानीलाई पाउन सङ्घर्ष गर्छन् । जसले कथालाई उत्कर्षमा पुर्याउँछ । सान्नानी कसको साथमा वा कसले पाउँछन् भन्ने रहस्य फिल्मको मुख्य आकर्षण बनेको छ । जसको उत्तर पाउन फिल्म हलमा पुग्नै पर्ने हुन्छ ।
फिल्ममा एसराज गराच र ऋचा थापा मुख्य भूमिकामा छन् । एसराजले आफ्नो पात्रलाई भावनात्मक गहिराइका साथ निभाएका छन् भने ऋचा थापा अर्थात् शान्तिको स्वाभाविक अभिनयले दर्शकलाई आकर्षित गर्छन्।

साथै, विमला लिम्बु, कुमार न्यौपाने, विकास अधिकारी, दमन रुपाखेती र गोविन्द प्रभाले राम्रो अभिनय गरेका छन् । विशेष गरी कुमार न्यौपाने र विकास अधिकारीको फिल्ममा डेब्यूले नयाँ ऊर्जा थपेको छ।
रञ्जित रानाले कथा र परम्परागत शैलीलाई सहज तरिकाले प्रस्तुत गरेका छन् । रोनिश तामाङ च्याङ्बाको छायाङ्कनले दृश्यलाई आकर्षक बनाएको छ भने विकास चौधरीको सङ्गीतले प्रेम र हास्य दृश्यमा भावनात्मक ऊर्जा थपेको छ । अशोक रोक्काको शृङ्गारले कलाकारहरूको प्रस्तुतिलाई जीवित बनाएको छ । गौतम राज खड्काको सम्पादनले कथा प्रवाहलाई सुचारु बनाएको छ।

‘लोकन्ती’ले नेपाली विवाह संस्कार, परम्परा र सामाजिक मूल्य मान्यताको कथा प्रस्तुत गरेको छ । चलचित्रमा प्रेम प्राप्तिका लागि गरेको सङ्घर्ष र त्याग देखाइएको छ । जसले दर्शकमा भावनात्मक प्रतिध्वनि जगाउँछ । कमेडी र पारिवारिक विषयलाई मिश्रण गरेर चलचित्रले मनोरञ्जन र शिक्षा दुवै प्रस्तुत गरेको छ।
‘लोकन्ती’ एक पारिवारिक र रोमान्स चलचित्र हो । जसले प्रेम, मित्रता र सामाजिक परम्परालाई रोचक ढङ्गले चित्रण गरेको छ । चलचित्रमा हास्य र रोमान्सको राम्रो मिश्रण छ । यदि तपाईँ पारिवारिक कथा र नेपाली सांस्कृतिक पृष्ठभूमि आधारित चलचित्र मन पराउनुहुन्छ भने ‘लोकन्ती’ले नयाँ अनुभव दिनेछ।

.gif)

.png)

