शिक्षामन्त्री पुन र शिक्षक महासंघ अध्यक्ष सुवेदीबीच दोहोरी
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन र नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीबीच दोहोरी चलेको छ ।
शिक्षकले राजनीति गर्न पाउने कि नपाउने भन्ने विषयमा शिक्षामन्त्री र शिक्षक नेताबीच सामाजिक सञ्जालमा रोचक दोहोरी चलेको हो ।
शिक्षा मन्त्रालयले आइतबार सूचना जारी गरी कुनै पनि पेसागत ऐनले शिक्षक, प्राध्यापक तथा कर्मचारीलाई राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार नदिएको जिकिर गर्दै त्यसो गरेमा बर्खास्त गर्ने चेतावनी दिएको थियो ।
त्यसको विरोध गर्दै शिक्षक महासंघका अध्यक्ष सुवेदीले शिक्षामन्त्री पुनलाई संविधानका धारा पढ्न सुझाव दिएका थिए।
‘मन्त्रीज्यूले शिक्षा ऐन, नियमावली र संविधान नपढेको देखिन्छ । बेलुका सुत्ने बेला संविधानको धारा ३४ पढ्नु पर्यो । श्रम ऐन पढ्नु पर्यो,’ सुवेदीले भने, ‘मन्त्री हुने मान्छेले संविधानको ज्ञान राख्नु पर्यो ।’
मन्त्रीको ध्यानकर्षणले शिक्षक र मन्त्रालयबीच द्वन्द्व बढ्ने अध्यक्ष सुवेदीले बताएका थिए ।
मन्त्री पुनले नेपाल अध्यक्ष सुवेदीलाई सोमबार बिहानै जवाफ फर्काउँदै सरकारी शिक्षक, प्राध्यापक तथा कर्मचारीले राजनीति गर्न नपाइने विषयमा बुझ्न ऐन कानुन पढ्न सुझाव दिएका छन्। मन्त्री पुनले सुवेदीलाई त्यस सम्बन्धमा सर्वोच्च अदालतले दिएको आदेश र ऐन–कानुन पनि हेर्न सुझाव दिएका हुन्।
‘मैले हिजो जारी गरेको सूचनाको बारेमा संविधानले दिएको अधिकार कसैले खोस्न सक्दै सक्दैन। तर राजनीतिक पार्टीहरूको संरक्षणमा विद्यालयहरू र विश्वविद्यालयहरूको सञ्चालनमा बाधा अड्चन पुर्याउन र विद्यार्थीहरूको भविष्यसँग खेलबाड गर्न पाइने छैन भनेर सूचना गरेको हो’, शिक्षामन्त्री पुनले लेखेका छन्, ‘सीटीईभीटीमा, विद्यालयहरूमा र विश्वविद्यालयहरूमा अनेक किसिमका राजनीतिक हस्तक्षेप र चलखेलले भएको अस्तव्यस्तताका बारेमा विद्यार्थीहरू र अविभावकहरूको हजारौँ गुनासो सुनेर सो सूचना प्रकाशित गरिएको हो। त्यस्तो अनावश्यक राजनीति गर्ने र चलखेल गर्ने काम पनि भ्रष्टाचार नै हो। सोसम्बन्धी सर्वोच्च अदालतले जारी गरेको आदेश र ऐन(कानुनका धाराहरू पनि हेर्नुहोला। अब फाल्गुन २१ गते आउने चुनावको प्रचारप्रसारमा चौबिसै घण्टा लागेर स्कुलमा पठनपाठन गर्न नछाड्नुहोला भन्ने विनम्र अनुरोध छ। नबिराउनु नडराउनु भन्ने नेपाली उखान छ नि त।’
.gif)

.png)

