देशसँगको पिरतीले मलाई मन्त्री बनायो, म व्यावहारिक रूपमै जोगी हुँ: महावीर पुन
‘म त तीन वर्षभन्दा बढी मन्त्री बस्दिनँ’
काठमाडौं : विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले देश र जनताप्रतिको आफ्नो लगाव (पिरती) कै कारण आफू मन्त्री बनेको बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले आफू मन्त्री बन्ने योजनामा नरहेको स्पष्ट पारे।
संसदमा पुरानो गीत ‘पिरतीले जोगी बनायो’ को अंश सुनाउँदै मन्त्री पुनले भने, 'म त सांसद वा मन्त्री हुने मान्छे त होइन, पिरतीले मन्त्री बनायो। मेरो पिरती सुरुमा अमेरिकाबाट एक-दुई वर्षका लागि गाउँ घुम्न आउँदा गाउँसँग बस्यो। त्यही पिरती गाउँबाट जिल्ला र अन्ततः देशसँग जोडियो। म व्यावहारिक रूपमा पनि अहिले ‘जोगी’ नै भइसकेको छु।'
महावीर पुन आएर मात्रै यो मन्त्रालय स्थापना भएको भन्ने भ्रममा नपर्न उनले आग्रह गरे। पुनका अनुसार, यो मन्त्रालय २०५३ सालमै बनेको थियो, तर पटक-पटक अन्य मन्त्रालयमा गाभिएर अस्तित्वविहीन हुँदै आएको थियो। उनले यो मन्त्रालयलाई "टुहुरा मन्त्रालयको सातौं पुनर्जन्म" को संज्ञा दिए।
मन्त्रालयको बजेटबारे स्पष्ट पार्दै उनले आउँदो आर्थिक वर्षका लागि ४ अर्ब रुपैयाँ विनियोजन गरिएको बताए। जसमध्ये साढे ३ अर्ब रुपैयाँ भने 'अबन्डा' (कुनै निश्चित योजनामा नबाँडिएको) रहेको उनले सदनलाई जानकारी गराए।
‘म त तीन वर्षभन्दा बढी मन्त्री बस्दिनँ’
मन्त्री पुनले आफू तीन वर्षभन्दा बढी मन्त्री भएर नबस्ने बताए । उनले विज्ञान, प्रविधि र नवप्रवर्तका क्षेत्रमा काम गर्नकै लागि आफू मन्त्री भएको बताए। विज्ञान, प्रविधि तथा नवप्रवर्तनको जग बसालेर छोड्ने उनको भनाइ थियो। ‘म त तीन वर्षभन्दा बढी बस्दिनँ। अरु तयार हुनुपर्छ, को को हुने हो,’ मन्त्री पुनले भने।
आफ्नो मन्त्रालयमा राम्रो सचिव पठाउनुपर्ने उनको भनाइ थियो। ‘सचिवहरू एकदम तखडा आउनुपर्छ,’ पुनले भने, ‘कुनै मन्त्रालयमा काम नलाग्ने, अटेर सचिवलाई त्यहाँ पठाउने होइन।’
आफूले वर्षौंदेखि नै देशको कुल ग्राहस्थ उत्पादन (जीडीपी)को १ प्रतिशत विज्ञान तथा प्रविधिका लागि छुट्याउनुपर्ने माग गर्दै आएको उनले स्मरण गराए। अहिले त्यसअनुसार, बजेट विनियोजन नभएको भए पनि अर्को वर्षदेखि बढाउँदै लगिने उनको भनाइ थियो।
अहिले नेपालका जीडीपी ६५ खर्बभन्दा बढी छ। त्यसको १ प्रतिशत विनियोजन गर्दा ६५ अर्बजति हुने उनले हिसाब सुनाए। त्यसपछि बल्ल आविष्कारको काममा लाग्न सकिने उनको भनाइ थियो। ‘दोस्रो वर्षमा जीडीबीको १ प्रतिशत छुट्याउनै पर्छ। बल्ल छलाङसम्म मार्न तयार हुन्छ। छलाङ त मारिँदैन,’ पुनले भने।
.gif)

.png)

