माओको अपमानपछि एम्बाप्पेसँग चिनियाँ रुष्ट

चीनमा एम्बाप्पेको बहिस्कार अभियान, कम्पनीहरूले तोडे सहकार्य ।


२०८३ कार्तिक ११ मंगलबार १८:५९ बजे

काठमाडौं : फ्रान्सेली फुटबल स्टार किलियन एम्बाप्पेलाई चीनमा विवाद महँगो परेको छ। पूर्वनेता माओ त्सेतुङलाई जोडेर गरिएको एक इन्टरनेट ‘मिम’ सम्बन्धी उनको टिप्पणी विवादमा तानिएपछि चिनियाँ कम्पनीहरूले उनीसँगको व्यावसायिक सम्बन्ध तोडेका छन्। सामाजिक सञ्जालमा उनको चर्को आलोचना हुनुका साथै बहिष्कारको मागसमेत उठेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार चिनियाँ पेय पदार्थ उत्पादक डोङपेङ, दुग्ध पदार्थ उत्पादक मेङनिउ र चिज उत्पादक मिल्कग्राउन्डले एम्बाप्पेसँगको सहकार्य अन्त्य गरेका छन्। चिनियाँ उपभोक्ताको भावनामा चोट पुर्‍याएको आरोपपछि कम्पनीहरूले उनीसँगको व्यावसायिक सम्बन्धबाट पछि हटेका हुन्।

विवादको केन्द्रमा सामाजिक सञ्जालमा फैलिएको एउटा भिडियो छ। फ्रान्सेली अनलाइन कार्यक्रम ‘द ब्रिज’ का लागि गरिएको अन्तर्वार्तामा एम्बाप्पेलाई आफूलाई लिएर बनाइएका इन्टरनेटका ‘मिम’बारे सोधिएको थियो। त्यस क्रममा माओ त्सेतुङको तस्बिरमा आफ्नो अनुहार जोडिएको मिमबारे टिप्पणी गर्दै उनले माओलाई चिनियाँ तानाशाहका रूपमा उल्लेख गरेको बताइएको छ।

सन् १९४९ मा जनवादी गणतन्त्र चीन स्थापना गरेका माओ त्सेतुङ चिनियाँ इतिहासका सबैभन्दा प्रभावशाली र विवादास्पद नेतामध्ये एक हुन्। चीनमा उनको राजनीतिक विरासत राष्ट्रिय इतिहास र पहिचानसँग जोडिएको छ। त्यसैले माओबारे गरिएको टिप्पणीलाई कतिपय चिनियाँले सामान्य ठट्टाका रूपमा नभई राष्ट्रिय भावनामा चोट पुर्‍याउने अभिव्यक्तिका रूपमा लिएका छन्।

भिडियो फैलिएसँगै चिनियाँ सामाजिक सञ्जाल विबोमा एम्बाप्पेविरुद्ध आक्रोश बढेको छ। उनका विज्ञापन हटाउन, व्यावसायिक साझेदारी अन्त्य गर्न र चीनमा उनको प्रचार रोक्न माग गरिएको छ। विवादले खेलाडीको मैदानभित्रको प्रदर्शनभन्दा बाहिरको अभिव्यक्तिले अन्तर्राष्ट्रिय बजारमा पार्न सक्ने प्रभावलाई समेत सतहमा ल्याएको छ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता गुओ चियाकुनले चिनियाँ जनताको भावनामा चोट पुर्‍याउने शब्द र व्यवहारप्रति समाजका विभिन्न क्षेत्रबाट विरोध हुनु स्वाभाविक रहेको बताएका छन्। यसले विवादलाई खेलकुद र व्यापारको सीमाभन्दा बाहिर पुर्‍याउँदै चीनको राष्ट्रिय भावना तथा ऐतिहासिक व्यक्तित्वप्रतिको संवेदनशीलतासँग जोडेको छ।

चिनियाँ सामाजिक सञ्जाल रेडनोटले एम्बाप्पेसँगको सामग्री साझेदारी सन् २०२४ डिसेम्बर ३१ मै समाप्त भएको जनाएको छ। उनका प्रचार सामग्री हटाउने निर्णयबारे पनि समाचार सार्वजनिक भएका छन्। चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले एम्बाप्पे र स्पेनिस ला लिगासम्बन्धी खेल प्रसारण रोकेको तथा उनीसँग सम्बन्धित विज्ञापन हटाएको खबरसमेत बाहिरिएको छ।

विवाद चर्किएपछि एम्बाप्पेले माफी माग्दै आफ्नो टिप्पणी उचित नभएको स्वीकार गरेका छन्। चीनका नागरिक तथा विश्वभर रहेका चिनियाँ समुदायका मानिसको भावनामा चोट पुगेको बुझेको उल्लेख गर्दै उनले चिनियाँ जनता र उनीहरूको इतिहासप्रति सम्मान रहेको बताएका छन्। तर, माफीपछि पनि व्यावसायिक सम्बन्धमा परेको असर र चिनियाँ सामाजिक सञ्जालमा उठेको बहिष्कारको मागले यो विवादलाई थप चर्चामा ल्याएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७