विप्लव समूह त्यागेका नेकपाका नेताहरूले माओवादी केन्द्रसँग एकता गर्ने
काठमाडौँ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबाट अलग भएका पोलिटब्युरो सदस्य मिलन सीको नेतृत्वमा रहेको समूहले माओवादी केन्द्रसँग एकता प्रक्रियालाई औपचारिक रूपमा अघि बढाउने निर्णय गरेको छ ।
काठमाडौँमा सम्पन्न राष्ट्रिय भेलापछि पत्रकार सम्मेलनमार्फत पार्टी अध्यक्ष मिलन सीले समाजवादी मोर्चाभित्र रहेका वामपन्थी तथा समाजवादी दलहरूसँग एकता प्रक्रिया अघि बढाउने निर्णय गरिएको जानकारी दिए ।
उनका अनुसार स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका अधिकांश सदस्य एकताको पक्षमा समर्थन जनाए पनि महासचिव विप्लव अन्तिम चरणमा पछि हटेपछि आफूहरूलाई छुट्टै बाटो लिनु परेको हो।
'हामीले समाजवादी मोर्चाभित्रका सबै कम्युनिस्ट र प्रगतिशील शक्तिहरूबीच विचार, नीति र सङ्गठनात्मक तहमा एकता निर्माण गर्ने तयारी गरेका छौं,' मिलन सीले पत्रकार सम्मेलनमा भने, 'अब यो पहललाई व्यावहारिक रूपमा अघि बढाउनेछौँ।'
मिलन सी नेतृत्वको नेकपाले अब माओवादी केन्द्रसँग छलफलमार्फत एकताको रूपरेखा तयार गर्ने र समाजवादी मोर्चाभित्र सहकार्य विस्तार गर्ने योजना बनाएको जनाएको छ ।
.gif)

.png)

