भारत र चीनको प्रभाव कम गर्न अमेरिकाद्वारा नेपाली युवामाथि एक वर्षमै साढे तीन लाख डलर लगानी गरेको दाबी

काठमाडौं । अमेरिकाले नेपालमा चीन र भारतको प्रभाव कमजोर बनाउन करोडौं रुपैयाँ लगानी गरेको पाइएको छ ।
इन्टरनेसनल रिपब्लिकन इन्स्टिट्युटको रिपोर्टअनुसार अमेरिकाले सन् २०२१ जुलाईदेखि २०२२ जुनसम्मको अवधिमा मात्रै साढे तीन लाख अमेरिकी डलर लगानी गरेको सन्डे गार्डियन अखबारले उल्लेख गरेको छ ।
उक्त रकम ‘युवा नेतृत्व’ कार्यक्रमको नाममा नेपाली युवालाई राजनीतिक मुद्दामा सक्रिय बनाउँदै भारत र चीनको प्रभाव घटाउन खर्च गरिएको सो पत्रिकाको दाबी छ ।
आईआरआईका अनुसार उक्त रकम नेपालमा भारत र चीनविरुद्ध बोल्ने तालिम दिन खर्च गरिएको हो ।
तर, सन् २०२३, २०२४ र २०२५ का लागि युवामा गरिएको राजनीतिक लगानीबारे जानकारी भने सार्वजनिक गरिएको छैन ।
१६ फेब्रुअरी २०२२ मा काठमाडौंस्थित सोलुसन कन्सल्टेन्ट्ससँग ९ हजार १३५ अमेरिकी डलरको सम्झौता भएको थियो ।
सम्झौताअनुसार सामूहिक छलफलमार्फत राजनीतिक कार्यक्रम सञ्चालन गरिएको थियो । यसलाई ‘युवा नेतृत्व–पारदर्शी नीति’ नाम दिइएको थियो । सम्झौता यति कडा थियो कि त्यसमा चिनियाँ टेलिकम्युनिकेसन प्रविधि प्रयोग नगर्नुपर्ने र भारत तथा चीनबाट ल्याइएका नीतिहरूको विरोध गर्नुपर्ने उल्लेख गरिएको थियो ।
त्यसैगरी इजरायली कम्पनीले ३४ प्रतिशत नेपाली जेन–जी आन्दोलनलाई उक्साउने खालका फेक ‘अकाउन्ट’ भेटिएको दाबी गरेको तथ्य पनि सन्डे गार्डियनमा उल्लेख छ ।