महालक्ष्मीको आराधना गरी रातभर जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा


२०८२ असोज २१ मंगलबार ०८:५२ बजे

काठमाडौं । यसवर्षको बडादसैँ सकिएको छ । 

बडादसैँ पर्वको अन्तिम दिन सोमबार आश्विन शुक्ल पूर्णिमाको राति धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रातभर जाग्राम बसेपछि १५ दिन लामो यो पर्व समापन गरिएको हो ।

शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि सोमबार नै समाप्त भएको छ । अखिल बलिपूर्ति भएसँगै विजया दशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिनेक्रम पनि एक वर्षका लागि सकिएको छ ।

आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आम नेपालीले आ–आफ्नो गच्छेअनुसार मनाउँछन् । आश्विन शुक्ल पूर्णिमाको सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन सुरु गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा शम्भूप्रसाद ढकाल बताउँछन् ।

नवरात्र विजया दशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । कात्तिक कृष्ण औँसीका दिन मनाइने लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्त्व छ । यो पूर्णिमालाई ‘कौमुदी’ पनि भनिन्छ । आश्विन शुक्ल पूर्णिमाको राति जुवा खेल्ने विधानसमेत शास्त्रीय आधारमा रहेको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले बताए । महालक्ष्मीसँगै सोमबार राति हात्तीमा चढेका इन्द्रको पनि पूजा गरिएको छ ।

कोजाग्रत पूर्णिमा र पूर्णिमा व्रत पनि आज रहेको समितिका अध्यक्ष प्रा ढकालले जानकारी दिए । महालक्ष्मीको व्रत गर्न गरिने कर्म मध्यरातमा पूर्णिमा भएका दिन गरिन्छ । चन्द्रमाको पूजा गरिने पूर्णिमा व्रतका लागि भने सूर्योदय र सायंकालमा पूर्णिमा तिथि चाहिने भएकाले मंगलबार परेको हो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७