ओली–लेखकलाई पक्राउको दबाबपछि मध्यराति सुरक्षा प्रमुखहरूको बैठक


२०८२ असोज २१ मंगलबार ०८:०६ बजे

काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र उनको सरकारका गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब बढेपछि चारै सुरक्षा निकायका प्रमुखसहितको बैठक बसेको छ । 

सोमबार मध्यराति प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव रामेश्वर दंगाल, नेपाल प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख टेकेन्द्र कार्कीसँग उत्पन्न परिस्थितिबारे छलफल गरेकी हुन् ।

ओली–लेखकलाई पक्राउ गर्न सामाजिक सञ्जालमार्फत दबाब बढेको र सुदन गुरुङको समूहले अल्टिमेटम दिएपछि उत्पन्न परिस्थितीबारे छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । 

स्रोतका अनुसार, कानुनी परिधिभित्र रहेर उनीहरूलाई पक्राउ गर्न सकिन्छ कि सकिँदैन भन्नेबारे छलफल भएको छ । सुरक्षा निकायका प्रमुखहरूले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले जेन–जी प्रदर्शनमा राज्य पक्षबाट भएको बल प्रयोगबारे छानबिन गरिरहेका बेला पक्राउ गर्न नहुने सुझाव दिएका छन् ।

सुरक्षा प्रमुखको सुझावमा केही जेनजी अगुवाले समेत समर्थन जनाएका छन् ।

कतिपय जेनजी अगुवा भने ओली लेखकलाई तत्काल पक्राउ गर्नुपर्ने बताउँछन् । सुदन गुरुङ समूहका एक जेनजी भन्छन्, ‘त्यत्रो ७५ जनाको हत्या भएको छ । जेनजी आन्दोलन ओलीलाई हटाउन र चुनाव गराउन मात्रै भएको हो ?’ 

अहिले उनीहरूलाई पक्राउ गर्दा आयोगको काम प्रभावित हुने र मौन बसेका दलहरूसमेत प्रतिवादमा उत्रने सम्भावना रहेको एक सुरक्षा अधिकारीले औँल्याएका छन् । यसले अर्को रक्तपात निम्तिन सक्ने उनको चिन्ता थियो ।

यस्तै, दुई दिनमा सत्ता पल्टाउने गरी भएको आन्दोलनपछि कसरी अघि बढ्ने भन्नेमा जेन–जी अगुवाबीच मतभेद देखिएको छ ।

जेन–जी आन्दोलनमा दमन गर्नेहरूमाथि चाल्नुपर्ने कदम, पूर्ववर्ती सरकारले गरेका नियुक्ति खारेजी, नयाँ नियुक्ति, भ्रष्टाचारको छानबिन, सरकारी निकायमा जेन–जीको प्रतिनिधित्वका साथै संवैधानिक र कानुनी प्रक्रियाका विषयमा उनीहरूबीच मतभेद देखिएको हो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७