सामाजिक सञ्जालमा ‘एरेस्ट ओली-लेखक’ अभियान

काठमाडौं : सामाजिक सञ्जालमा सोमबार दिउँसोबाट ‘एरेस्ट केपी ओली, एरेस्ट रमेश लेखक’ सुरु भएको छ । जेन-जी अगुवाहरुले २३ र २४ भदौको घटनामा संलग्न पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लगायतलाई तत्काल पक्राउ गर्नुपर्ने भन्दै बालुवाटार र गृह मन्त्रालयमा दबाब दिँदै आएका थिए ।
सोमबार दिउँसोबाट हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङलगायतले सामाजिक सञ्जालमा यससम्बन्धी ट्रेन्ड सुरु गरेका हुन् । अन्य जेन–जी अगुवाहरूले पनि सामाजिक सञ्जालमा ओली र लेखकमाथि कारबाहीका लागि दबाब दिन थालेका छन्।
‘द काउन्सिल अफ जेन–जी’को नामबाट सामाजिक सञ्जालमा यस्तो ट्रेन्ड सुरु गरिएको छ। अरेस्ट केपी ओली र अरेस्ट रमेश लेखक ह्यासट्याग राखेर उनीहरुले अभियान थालेका हुन्।
२३ र २४ गते भएको जेन–जी आन्दोलनमा प्रहरी प्रशासनले अत्यधिक बल प्रयोग गरेको थियो । घातक हतियारबाट दुई दिनमा २५ सय बढी गोली प्रहार हुँदा भड्किएको स्थितिमा कम्तीमा ७५ जनाको मृत्यु भएको थियो ।
यसैविच हामी नेपाल संस्थाका संयोजक गुरुङ सोमबार साझ जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी लिएर गएका छन् । यद्यपी प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ। सो विषयमा हाल सरकारले उच्चस्तरीय जाँचबुझ आयोगमार्फत छानविन गरिरहेको भन्दै प्रहरीले दर्ता नगरिएको एक प्रहरी अधिकारीले बताए।
आयोगले यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली,पूर्वगृहमन्त्री रमेश लेखक,राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा र काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालको राहदानी रोक्का गर्न भन्दै गृह प्रशासनलाई पत्राचार गरेको थियो । उनीहरूलाई आयोगको स्वीकृतिबिना काठमाडौं छाड्न समेत रोक लगाइएको थियो ।