प्रचण्डको योजना : एजेण्डा मिल्नेसँग मोर्चा, विचार मिल्नेसँग एकता

काठमाडौँ : जेनजी आन्दोलनपछिको राजनीतिक तरंगसँगै नेकपा (माओवादी केन्द्र) भित्र नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको माग तीव्र भइरहँदा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’भने नेतृत्वबाट पछि हट्ने सोचमा छैनन् । बरु ‘एजेन्डा मिल्नेसँग मोर्चा र विचार मिल्नेसँग एकता’को रणनीति उनले अघि सारेका छन्।
सोमबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको महाधिवेशन आयोजक समिति सचिवालय बैठकमा संयोजक समेत रहेका प्रचण्डले हालको राजनीतिक जटिलता, प्राकृतिक विपद् र आगामी कार्य योजनाबारे पार्टी नेताहरूलाई ब्रिफिङ गर्ने क्रममा एकता र मोर्चाका लागि संवाद तीव्र बनाइएको जानकारी दिएका एक नेताले बताए ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले अध्यक्ष दाहालले ‘एजेन्डा मिल्नेसँग मोर्चा विस्तार र विचार मिल्नेसँग एकताको लागि सकारात्मक छलफल भइरहेको’ बताएका जानकारी दिए।
यसअघि सम्पन्न केन्द्रीय समितिको बैठकले आगामी मंसिरमा विशेष महाधिवेशन बोलाउने निर्णय गर्दै, जेनजी आन्दोलनले उठाएका प्रश्नहरूबारे गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो । त्यसै महाधिवेशनमार्फत युवा पुस्ताको उल्लेख्य सहभागिता सुनिश्चित गर्ने निर्णय भएको स्मरण प्रचण्डले गराएका थिए ।
तर नेतृत्व हस्तान्तरणको आवाज उठे पनि अध्यक्ष प्रचण्ड सत्ता हस्तान्तरण गर्ने मुडमा छैनन् । पार्टीभित्रको सन्तुलन मिलाउँदै, मोर्चा र सम्भावित एकताको माध्यमबाट आफ्नो नेतृत्व कायम राख्ने कूटनीतिक प्रयासमा उनी केन्द्रित देखिन्छन् ।
पार्टी सचिवालयको अर्को बैठक दुई दिनपछि बस्ने तय भएको छ । त्यस बैठकमा महाधिवेशनको तयारी, सम्भावित एकता, मोर्चा विस्तार र सङ्गठनात्मक विषयमा थप निर्णय हुने बताइएको छ ।