चिनियाँ च्याङ्ग्रा नआउँदा खसीको मूल्य आकासियो

काठमाडौं : कोरोना सङ्क्रमण भएपछि हुम्लामा चिनियाँ च्याङ्ग्रा आउन छोडेका छन् । कुनै समय दसैँ तिहारलगायत पर्वमा सुरु हुन लाग्दा सदरमुकाम सिमिकोटसहित हुम्लाभरिका गाउँघरमा चिनियाँ च्याङ्ग्रा मात्रै हुने गर्दथे ।
विसं २०७७ को कोरोना सङ्क्रमणका बेला यहाँ चिनियाँ च्याङ्ग्रा भित्रिन नसक्दा सर्वसाधारणले स्थानीय खसीबोका खरिद गरेर विभिन्न पर्व मनाउँदै आएका छन् । छ वर्ष यतादेखि चिनियाँ च्याङ्ग्रा हिल्सा नाका भएर सदरमुकाम सिमकोट पुग्न नसकेपछि स्थानीय खसी बोकाको माग बढ्दै गएको व्यापारी बताउँछन् ।
गत वैशाख १८ गतेदेखि नेपाल र चीनको सिमाना हिल्सा नाका पूर्ण रूपमा सञ्चालनमा आए पनि चीनमा खसीको मूल्य महँगो हुँदा हुम्ला भित्रिन नसकेको खसी व्यापारी धनजित भण्डारीले बताए । उनका अनुसार चीनमा यो वर्ष चिनियाँ च्याङ्गाको मूल्य ३० हजारदेखिमाथि पर्ने गरेको छ ।
चिनियाँ च्याङ्गाको मूल्य आयात गर्न महँगो पर्ने भएकाले यहाँका व्यापारीले ल्याउन नसकेका भण्डारीले बताए । ६ वर्षअघि हिल्सा, लिमी, चुवाखोला, टाके, नेक्पालगायत नाकाबाट चिनियाँ च्याङ्ग्रा यहाँ भित्रिने गरेकामा पछिल्ला वर्षहरूमा आउन छोडेका हुन् ।
६ वर्षदेखि हिल्सा सीमा नाका भएर चिनियाँ च्याङ्ग्रा भित्रिन छोडेपछि जिल्लामा स्थानीय खसीको मूल्य आकासिएको छ । सात गाउँपालिका रहेको हुम्लामा पछिल्ला वर्षहरूको दसैँ महँगो हुँदै आएको स्थानीय बताउँछन् ।
स्थानीय खसी खरिद गर्दा २० हजारदेखि रु ४० हजारसम्म पर्ने खसी व्यापारी राजेन्द्र बोहराले बताए । स्थानीय खसी महँगो पर्ने भए पनि यो वर्ष अन्य विकल्प नहुँदा मागसँगै मूल्य पनि बढेको उनले उल्लेख गरे । व्यापारीले चिनियाँ च्याङ्ग्रा नआउँदा दसैँका लागि भनेर बझाङ, बाजुराबाट खसी ल्याएर बिक्री गर्न थालेका छन् ।
सदरमुकाम सिमकोटमा खसीको मासु प्रतिकिलो एक हजारदेखि एक हजार २०० सम्म पर्ने बोहराले जानकारी दिए । हुम्लामा दैनिक उपभोग्य वस्तुदेखि लत्ताकपडाका साथै हरेक सामानको मूल्य महँगो हुँदै गएको उपभोक्ताको गुनासो छ ।