एमाले अब हिजोजस्तो रहँदैन, नयाँ हुन्छ : योगेश भट्टराई

काठमाडौँ : नेकपा एमालेका सचिव योगेश भट्टराईले अब नेकपा एमालेको नेतृत्व र कार्यशैली परिवर्तन गरेर जनमुखी र युवामैत्री बनाउनुपर्ने बताएका छन् ।
शनिबार एक भिडियो सन्देशमार्फत एमाले सचिव भट्टराईले पार्टी पुनर्गठन अहिलेको आवश्यकता रहेको बताएका हुन् । उनले पार्टीको नेतृत्व र कार्यशैली फेर्ने प्रतिबद्धता जनाउँदै भनेका छन्,‘अब एमाले हिजोजस्तो रहँदैन, नयाँ हुन्छ । जनमुखी, युवामैत्री हुन्छ ।’
साथै उनले संसद विघटन संक्रमण अन्त्यको सही बाटो नभएको बताएका छन् । ‘जेनजीहरूका मागलाई संवैधानिक प्रक्रियाबाटै संसद्बाटै पूरा गर्न सकिन्थ्यो । राष्ट्रपतिले अहिले जसलाई प्रधानमन्त्री बनाउनुभएको छ, उहाँलाई संसद्बाट पनि प्रधानमन्त्री बनाउन सकिन्थ्यो... यो सही निकास होइन ।’
उनले सुशासनका लागि एमालेका नेताहरूसहित सबैको छानबिन गर्न पनि माग गरेका छन् ।