सामाजिक सञ्जाल बन्दको निर्णय लोकतन्त्रविरुद्ध : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय लिएर लोकतान्त्रिक मूल्य र अभिव्यक्ति स्वतन्त्रताको उल्टो बाटो रोजेको टिप्पणी गरेका छन्।
सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरूलाई बन्द गर्ने निर्णय गरेपछि महामन्त्री थापाले सामाजिक सञ्जालमार्फत आपत्ति जनाउँदै उनले सरकार उल्टो बाटो हिँडेको हुँदा यस निर्णयलाई तुरुन्त पुनर्विचार गर्नुपर्ने बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, "सामाजिक सञ्जाल बन्द गर्ने होइन बरु आवश्यक कानुन छिटो बनाउने हो ।"
"सामाजिक सञ्जाल अब केवल मनोरञ्जन वा व्यक्तिगत सम्पर्कको माध्यम मात्र होइन, यो डिजिटल उद्यमशीलता, सूचनाको पहुँच, र जनजीविकासँग प्रत्यक्ष जोडिएको विषय हो," थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत लेखेका छन्।
उनले सामाजिक सञ्जालमा लगाइने कुनै पनि प्रतिबन्धले अभिव्यक्ति स्वतन्त्रता, सूचनाको अधिकार, र साइबर सुरक्षासम्बन्धी नीतिहरूमा गम्भीर असर पार्ने बताएका छन् । "सामाजिक सञ्जाल बन्द गर्ने विषय केवल प्रविधिको होइन, यो लोकतान्त्रिक अभ्यास र अधिकारको प्रश्न हो।" थापाको भनाइ छ।
सरकारले बिहीबारको मन्त्रिपरिषद् बैठकमार्फत सामाजिक सञ्जाल दर्ता नगरेसम्म नेपालमा सञ्चालन गर्न नपाउने निर्णय गरेको थियो । सरकारको निर्णय अनुसार बिहिबार नेपाल दुरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायकलाई ती सामाजिक सञ्जाल बन्द गर्न निर्देशन दिइसकेको छ ।