विधान महाधिवेशनमा प्रस्तुत गर्ने प्रतिवेदनमाथि छलफल गर्न एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।
दिउँसो ३ बजे च्यासलस्थित पार्टी कार्यालयमा बस्ने बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने विभिन्न प्रतिवेदनहरूमाथि छलफल हुने छ।
बैठकमा राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ, पारित भएपछि विधान महाधिवेशनमा प्रस्तुत गरिने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
महाधिवेशनमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रतिवेदन र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेस गर्नेछन्।
एमाले विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा हुँदैछ । विधान महाधिवेशनमा २,३५० जना सहभागी हुनेछन्।
महाधिवेशनका लागि सबै तयारी पूरा भएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।
मञ्च सजावट, सचिवालयको व्यवस्थापन, स्वयंसेवकहरुको व्यवस्थापन, मेडिकल टिम, मिडिया सेन्टरको व्यवस्थापन, झाँकी प्रदर्शनको व्यवस्थापन, सातदोबाटो चोकबाट महाधिवेशन स्थलसम्म यातायातको व्यवस्था र सातदोबाटोदेखि महाधिवेशन स्थलसम्म विभिन्न पार्टी कमिटी र जनसंगठनहरुका तर्फबाट स्वागतद्वारका अतिरिक्त उपत्यकाका विभिन्न स्थानहरुमा स्वागत गेटहरु निर्माण लगायत आवश्यक सबै काम पूरा भएको छ।
महाधिवेशनमा सहभागी प्रतिनिधिहरुबीच समूहगत छलफल हुनेछ भने केन्द्रीय निर्वाचन आयोगको भावी नेतृत्व समेत निर्वाचित गर्नेछ।