‘डिप फेक’को पिडा बोकेर साइबर ब्युरोमा स्वर्णिम वाग्ले

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले आफ्नो ‘डिप फेक’ अडिओ बनाएको भन्दै साइबर ब्युरोमा निवेदन दर्ता गरेका छन् । नेपाल–भारत सम्बन्ध, सीमा समस्यामा वाग्लेको अभिव्यक्ति भन्दै विभिन्न भिडिओ र टेक्स्ट सामग्री सामाजिक सञ्जालमा राखिएको सामग्री ‘डिप फेक’ भएको वाग्लेको उजुरीमा छ ।
उपसभाति वाग्ले उजुरी दर्ताका लागि बुधबार दिउँसो भोटाहिटीस्थित ब्युरो पुुगेका थिए । ब्युरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले निवेदन दर्ता भएको जानकारी दिए ।
नेपाल–भारत सम्बन्ध, सीमा समस्यामा वाग्लेको अभिव्यक्ति भन्दै विभिन्न भिडिओ र टेक्स्ट सामग्री सामाजिक सञ्जालमा राखिएको थियो। वाग्लेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी गरेको जस्तो बनाइएको थियो । यस्ता सामग्री पोस्ट गर्ने, अफवाह फैलाउनेलाई कानुनी दायरामा ल्याउन पनि उनले माग गरेका छन्।