रुबीका हत्या आरोपी लक्ष्मणको शव अझै उठेन

काठमाडौं । रौतहटकी रुबीकुमारी साहका हत्या आरोपी लक्ष्मण पासवानको शव कीर्तिपुर बर्न अस्पतालबाट अझै उठ्न सकेको छैन । शव घर लैजान आर्थिक अभाव भएको परिवारले बताएका छन् । छोराको शव घर ल्याउन आर्थिक अभाव भएको लक्ष्मणका बुवा जयनाथ पासवानले बताएका छन् ।
रौतहट माधवनारायण नगरपालिका–६ माधोपुरका लक्ष्मण पासवानले आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेका थिए । उनको उपचारकका क्रममा कीर्तिपुर वर्न अस्पतालमा ज्यान गएको हो ।
छोराको मृत्यु भएको दुुई दिन बितिसक्दा समेत पैसा नभएका कारण घर ल्यान नसकेको भन्दै बुबा जयनाथले स्थानीय जनप्रतिनिधिहरूसँग सहयोग मागेका छन् ।
‘छोरालाई उपचारका लागि काठमाडौं लगिएको थियो । त्यहीँ मृत्यु भयो । अब शव ल्याउन हामीसँग पैसा छैन, मेयर साहेबसँग आर्थिक सहयोग मागेको छु’, जयनाथले भने ।
यता माधवनारायण नगरपालिकाका मेयर बैजनाथ यादवले लक्ष्मणको शव ल्याउन आफूले सहयोग गर्ने बताएका छन् ।
‘दुःखद घटना भएको छ । लक्ष्मणको शव परिवारजनसम्म पु¥याउन सक्दो सहयोग गर्छु भनेको छु,’ मेयर यादवले भने । रुबीको शव गत शनिबार राति गौर–९ मा मुडवलवा गेट अगाडि सुटकेसमा फेला परेको थियो । त्यसपछि रुबी हत्याका आरोपी लक्ष्मण पासवानले आफ्नै शरीरमा आगो लगाएका थिए ।
शरीरमा आगो लागेर गम्भीर घाइते भएका उनलाई प्रहरीले उद्धार गरी उपचारमा पठाए पनि उपचारकै क्रममा ज्यान गएको थियो । लक्षमणले आफूलाई आगो लगाउनुअघि ९ मिनेटको भिडियो सार्वजनिक गर्दै आफूले रुबीको हत्या गरेको स्वीकारेका थिए ।