सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीको असहमति सचिवालय बैठकले टुंग्याउँछ : शंकर पोखरेल

काठमाडौं : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीका उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीको प्रस्तावमाथि नभई पूर्वराष्ट्रपति विद्या भण्डारीबारे गरिएको निर्णयमाथि असहमति मात्रै भएको बताएका छन्। उपाध्यक्षद्वय पाण्डे र ज्ञवालीको असहमति सचिवालय बैठकले टुंगो लगाउने महासचिव पोखरेलकाे भनाई छ ।
विधान महाधिवेशनको तयारीबारे आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले दुई उपाध्यक्षको निर्णयमाथिको असहमति विधान महाधिवेशनमा छलफल गर्ने कि नगर्ने भन्नेबारे सचिवालय बैठकले टुङ्ग्याउने बताए। पोखरेलले भने, ‘कसलाई सदस्यता दिने वा नदिने भन्ने विषय दस्तावेजको कुरा होइन । त्यो दस्तावेजमा उहाँहरूको फरक मत होइन । निर्णयमाथिको हो । निर्णयमाथिको फरक मत विधान अधिवेशनमा छलफल गर्ने कि राष्ट्रिय महाधिवेशनबाट निरुपण गर्ने भन्ने सचिवालयले गर्ला ।’
विधान महाधिवेशनमा प्रस्तुत गर्ने विभिन्न दस्तावेजहरूमाथिको फरक मत नभएकाले त्यसबारे सचिवालयले निर्णय लिने उनले बताए । ‘मतका हिसाबले दस्तावेजमाथिको फरक मत नभएको हुनाले विधान महाधिवेशनमा गर्ने कि नगर्ने भन्ने सचिवालयमा छलफल गरेर टुंगो लाग्ला । निर्णयमाथिको असहमति भएकाले विचारमाथिको असहमति होइन,’ उनले भने ।
स्थायी कमिटी सदस्य कर्ण थापाले भने लोकतान्त्रिक विषय नै उठाएर विधानमाथि असहमति राखेकाले विधान अधिवेशनमा उठाउन सकिने उनले बताए । यद्यपि यसबारे पनि भोलि बस्ने केन्द्रीय सचिवालय बैठकले निर्णय लिने उनले बताए ।
‘जहाँसम्म स्थायी समिति सदस्य कर्ण थापाले पार्टी लोकतान्त्रिक विषय उठाएर विधानकै प्रावधानका सन्दर्भमा असहमति राख्नुभएको छ । त्यो उहाँले विधान अधिवेशनमा उठाउन सक्ने विषय छ,’ पोखरेलले भने, ‘त्यो विषय कसरी प्रस्तुत गर्ने भन्ने विषय भोलिको सचिवालय बैठकले निरुपण गर्ला ।’