गृहमन्त्रीमा आईजीपी दिपक थापाको बिदाई

काठमाडौं : गृहमन्त्री रमेश लेखकले बुधबार गृह मन्त्रालय सिंहदरबारमा आयोजित एक कार्यक्रमका बीच सेवा निवृत्त भएका प्रहरी महानिरीक्षक दिपक थापालाई शुभकामनासहित बिदाई गरेका छन् ।
गृहमन्त्री लेखकले सफल कार्यकाल सम्पन्न गरी सेवा निवृत्त भएका थापालाई बधाई दिँदै उनको व्यावसायिक जीवनको उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।
उनले थापाले राज्यले सुम्पेको जिम्मेवारी निष्ठापूर्वक, व्यावसायिक र इमानदारीपूर्वक सम्पन्न गरेको चर्चा गर्दै आगामी दिनमा पनि राष्ट्र सेवामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले शान्ति सुव्यवस्था कायम गर्ने महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेकोमा थापालाई बधाई दिँदै उनको सेवा निवृत्त जीवन स्वस्थ, रचनात्मक र क्रियाशील रहोस् भनी शुभकामना दिएका छन् ।
त्यसै अवसरमा प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी जस्तो गौरवशाली संगठनको सदस्य भई देश र नागरिकको सेवामा समर्पित हुन पाउनु सौभाग्यको विषय भएको बताए ।
उनले आफ्नो कार्यकालमा संविधान र कानूनले प्रदान गरेको जिम्मेवारी पूर्ण इमानदार, पारदर्शी र निष्पक्षताका साथ निर्वाह गरेको उल्लेख गर्दै यस अवधिमा नेपाल प्रहरीको आधुनिकीकरण, सांगठनिक सुदृढीकरण, विकास र स्तरोन्नतिका लागि नेपाल सरकार तथा गृहमन्त्रालयबाट प्राप्त अभिभावकत्व, हौसला र मार्गनिर्देशनप्रति कृतज्ञता व्यक्त गरे ।
बिदाइ कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, प्रहरी अतिरिक्त महानिरीक्षक, गृह मन्त्रालयका वरिष्ठ अधिकारी लगायतको उपस्थिति थियो ।