श्रीमती हत्या र बाबुमाथि गोली प्रहारपछि फेरि अर्को हत्या


२०८२ भदौ २ सोमबार २२:१९ बजे
हत्या गरिएका रामपुकार राय

सर्लाही । सर्लाहीमा गत साउन ३० गते राति गोली प्रहारबाट मृत्यु भएका रामपुकार रायको हत्यामा प्रहरीले नयाँ तथ्य फेला पारेको छ । 
आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा फरार व्यक्तिले नै रामपुकारको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

जिल्लाको हरिपुर्वा नगरपालिकामा भएको उक्त घटनामा संलग्न मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार हरिपुर्वा नगरपालिका–६ निवासी ४० वर्षीय रामपुकार राति करिब सवा ८ बजे आफ्नै घर अगाडि बसिरहेका वेला मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरेका थिए ।

प्रहरीका अनुसार हरिपुर्वा–५ बस्ने २६ वर्षीय धर्मेन्द्र राय भन्ने धीरेन्द्र रायले चलाएको बीआर ३० एजी २३५४ नम्बरको अपाचे मोटरसाइकलमा आएका उनीहरू घटनामा संलग्न थिए । यादवका छोरा सुमित रायसँगको पुरानो विवादलाई लिएर कुराकानी गर्ने क्रममा मोटरसाइकलको पछाडि बसेका व्यक्तिले आफूसँग भएको पेस्तोलबाट रामपुकारको टाउकोमा गोली प्रहार गरेका थिए । 

हत्यापछि भाग्ने क्रममा उनीहरू चढेको मोटरसाइकल हरिपुर्वा–७ बसन्तपुरमा दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते भएका चालक धीरेन्द्रलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने पछाडि बसेका र गोली प्रहार गर्ने मुख्य व्यक्ति भने अझै फरार छन् । घाइते धीरेन्द्रको उपचारपछि उनलाई प्रहरी हिरासतमा राखिएको छ । 

गोली लागेर गम्भीर घाइते भएका यादवको महोत्तरीको जानकी हेल्थ केयरमा उपचारका क्रममा सोही राति ९ बजे मृत्यु भएको थियो । प्रहरीले घटनास्थलबाट गोलीको खोका एक थान बरामद गरेको छ । अनुसन्धानका क्रममा धीरेन्द्रले मलंगवा–९ मा डेरा गरी बस्ने गरेको खुलेपछि उनको कोठा खानतलासी गर्दा एक थान नलकटुवा पेस्तोल र अर्को एक थान गोलीको खोका बरामद भएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका धीरेन्द्रलाई सर्लाही जिल्ला अदालतबाट ३१ गतेदेखि लागु हुनेगरी सात दिनको म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ । 

पक्राउ परेका धीरेन्द्र राय यसअघि पनि आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा फरार अभियुक्त रहेको खुलेको छ । उनले गत वर्ष २०८१ असोज १० गते आफ्नै श्रीमती चित्रलेखा कुमारी यादवको निधारमा गोली हानी हत्या गरेका थिए । यस्तै आफ्नै बुवा राम दिनेश रायलाई समेत गोली हानी घाइते बनाएका थिए ।

उक्त घटनापछि उनका बुवाले कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योगमा जाहेरी दिएपछि उनी फरार थिए । प्रहरीले दुवै घटनालाई जोडेर अनुसन्धान गरिरहेको छ । यादवको हत्यामा संलग्न फरार अर्का व्यक्तिको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७