सर्वोच्चको आदेशविरुद्ध जसपा नेपालले थाल्यो प्रदर्शन


२०८२ भदौ २ सोमबार २१:३९ बजे

काठमाडौं । सर्वोच्च अदालतले १९ वर्षअघिको गौर हत्याकाण्डको छानबिन अघि बढाउन परमादेश जारी गरेको विरोधमा जसपा नेपाल तराई मधेशका विभिन्न जिल्लामा प्रदर्शनमा उत्रिएको छ ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका कार्यकर्ताले मधेश प्रदेश र कोशीका विभिन्न ठाउँमा विरोध प्रदर्शन गरेका छन् । विराटनगरमा सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शन भएको छ ।

विराटनगरको रोडशेष चोकमा जसपा नेपाल मोरङले प्रदर्शन गरेको छ । अध्यक्ष राजकुमार यादवले सरकारले पटक–पटक दमन गरेको बताए । प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै उनले दमन गरेर शासन गर्ने प्रयास भएको बताएका छन् ।

दुई पार्टी मिलेर एकात्मक शासन सञ्चालनका लागि षडयन्त्र भएको बताउँदै उनले भने, ‘उपेन्द्र यादव त्यसै नेता भएको होइन, जनताले आन्दोलन गरेर जनताले जिताएर स्थापित भएको नेता हो ।’

जसपा नेपालका कार्यकर्ताहरूले मधेश प्रदेशको सप्तरी, जनकपुर, सर्लाही र रौतहटका ठाउँ–ठाउँमा प्रदर्शन गरेका छन् । उनीहरूले साँझ सर्वोच्चको आदेशविरूद्ध जनकपुरधामको रामानन्द चोकमा प्रदर्शन गरेका छन् । मधेस आन्दोलनका उपलब्धिहरुलाई समाप्त पार्ने हिसाबले अदालतको परमादेश आएको बताएका छन् । 

सर्वोच्च अदालतले मधेश आन्दोलनका उपलब्धिहरुलाई तेजोबोध गर्ने उद्देश्यले यस प्रकारको परमादेश दिएकाले आफूहरुलाई आन्दोलित हुनु परेको जसपा नेपाल मधेशका अध्यक्ष बालकिशोर यादवले बताए । यस प्रकारको परमादेशले मधेसमा फेरि आन्दोलन उठ्ने चेतावनी दिए ।

सर्वोच्च अदालतले आजै १९ वर्ष अघिको गौर हत्याकाण्डको अनुसन्धान अगाडि बढाउन परमादेश दिएको थियो । त्रिभुवन साहले २०८० साल जेठ २१ गते सर्वोच्चमा दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले यो परमादेश गरेको हो ।

सर्वोच्च अदालतले १९ वर्षअघि गौरमा भएको हत्याकाण्डको छानबिन गर्न सरकारका नाममा सोमबार परमादेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले उक्त हत्याकाण्डको छानबिन गर्न सरकारसहित गौर प्रहरी र रौतहट जिल्ला वकिलको कार्यालयका नाममा परमादेश जारी गरेको छ । गौर हत्याकाण्ड हुँदा हालका जसपा अध्यक्ष उपेन्द यादव मधेश आन्दोलनको नेतृत्व गरेको तत्कालीन मधेशी जनअधिकार फोरमको केन्द्रीय अध्यक्ष थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७