युवाहरुले आफूभित्र घमण्ड पस्न दिन हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्ति व्यक्तिका आत्मविश्वासलाई राष्ट्रिय आत्मविश्वासमा रुपान्तरण गर्नुपर्ने बताएका छन् ।
अनलाइनखबर डटकमद्वारा आज आयोजित ‘चालीस मुनीका चालीस’ युवालाई सम्मान कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबैको आत्मविश्वास, प्रतिभा र मेहनतलाई जोडेर नेपालले तीव्रताका साथ सम्पन्नता हासिल गर्दै मानवीय गुणवत्तामा पनि अग्रता लिने विश्वास व्यक्त गरे।
‘युवाहरुले आफ्नो रुचि र प्रतिभालाई चिन्न सक्नुपर्छ। संघर्ष गर्नुपरे पनि सहेर हार नखाइकन काम गर्नुपर्छ। एक दिन सफलतामा पुगिन्छ।’
प्रधानमन्त्री ओलीले भने, ‘दुनियाँमा मान्छेहरुले नयाँ नयाँ सुरुवात युवा अवस्थामै गरेका छन्। त्यसपछि क्रमशः आफ्नो क्षेत्रमाा श्रेष्ठता हासिल गर्दै गएका छन्। सामाजिक जीवनका सबै क्षेत्रमा हामीलाई प्रतिभा चाहिन्छ। धेरै योग्य युवामध्येबाट छानिएका तपाईहरुले भविष्य अझ ठुल्ठुला सफलता प्राप्तितर्फ अगाडि बढ्दै जावोस्।’
प्रधानमन्त्री ओलीले प्राकृतिकरुपमा उर्बर र ज्ञानभूमि नेपाल विकासमा पछाडि पर्नुपर्ने कुनै कारण नभए पनि पछाडि पर्न गएकामा अब समृद्धिका लागि सबै मिलेर केही गर्ने समय आएको भनाइ राखे।
उनले भने, ‘म केही गर्न सक्छु भन्ने आत्मविश्वास हुनुपर्छ। निराशाको बादल छाडेर उत्साह र आशामा लागेका युवाहरु छनोट गर्नु निकै कठिन काम हो। म तपाईहरुलाई बधाई भन्न चाहन्छु। मेरो भनाइ यत्ति हो, युवाहरुले आफूभित्र घमण्ड पस्न दिन हुँदैन। हरेक मान्छेले आफ्नो आचरण, मेहनत र गुणवत्ताको सम्भावनालाई पहिल्याउनु पर्छ।’