ढोकामा ग्यास सिलिण्डर राखेर कैदीबन्दीद्वारा कारागार ‘कब्जा’, प्रहरी जानै सकेनन्

कैलाली । एक जनाको मृत्यु हुने गरी झडप भएको कैलाली कारागारको घटनास्थल अहिलेसम्म पनि कैदी बन्दीको कब्जामै रहेको छ ।
कैलाली कारागारमा बिहान प्रमुख जिल्ला अधिकारी गोगन हमालसहितको टोली पुगेको थियो । कारागार प्रशासनसम्म पुगेको जिल्ला सुरक्षा समितिको टोली कैदी बन्दीले घटनास्थलसम्म जान नदिएपछि फर्किएको थियो ।
चारै वटै सुरक्षा निकायका प्रमुखहरूसहितको टोली घटनास्थलमा जान नसकेपछि जिल्ला प्रशासन कार्यालयमा आएर सुरक्षा समितिको बैठकले छानबिन समिति बनाउने निर्णय गरेको थियो ।
कैदीबन्दीहरुले भित्रबाट ताला लगाएर थुनुवा कक्षको मूल गेटमा ग्याँस सिलिण्डर राखेका छन् । कोही भित्र प्रवेश गरे सिलिण्डर पड्काएर आगो लगाइदिने चेतावनी दिइरहेका छन् ।
अहिले राष्ट्रिय मानवअधिकार आयोगको टोली पनि त्यहाँ पुगेको छ । तर, घटनास्थलसम्म पुग्ने अवस्था नभएको बताइएको छ । ‘हामी अहिले घाइतेहरूको उपचारमा लागिरहेका छौँ घटनास्थलमा जान सकिएको छैन’ जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भने ।
हिजो राति भएको झडपमा एक जनाको मृत्यु हुनुका साथै ४७ जना घाइते भएका छन् । घटनास्थलमा प्रहरी र मानवअधिकारको टोली समेत पुग्न नसक्दा त्यहाँको वास्तविक अवस्था अझै सार्वजनिक हुन सकेको छैन । अहिलेसम्म पनि घाइतेका आफन्तहरूले घाइतेलाई भेट्न नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
१५० जनाको क्षमता भएको यो कारागारमा करिब ७०० जना कैदीबन्दी छन् । यो कारागारमा शनिबार राति करिब ११ बजेतिर झडप भएको थियो ।
उक्त झडपमा लागुऔषधसम्बन्धी मुद्दाका थुनुवा धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको थियो भने अन्य ४७ जना घाइते भएका छन् । घाइतेहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
उनीहरू मध्ये गोदावरी नगरपालिकाका आयुश भट्ट र धनगढीका रवि चौधरीको आईसीयूमा उपचार भइरहेको कैलालीका प्रपक्ता प्रहरी नायब उपरीषक (डीएसपी) राजकुमार सिंहले बताए । कारागारभित्र सुरक्षाकर्मी प्रवेश गर्न नसक्ने अवस्था रहेको बताउँदै डीएसपी सिंहले थप विषयमा जानकारी नभएको बताए ।
कैलाली कारागारमा केही दिनदेखि झडप भइरहेको छ । बिहीबार पनि झडप हुँदा पाँच जना घाइते भएका थिए । त्यसले शुक्रबार राति ठूलो रुप लिएको हो ।