रवि नछुटेपछि निकिताको अठोट : श्रीमानले न्याय नपाएसम्म लडिरहन्छु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई अदालतले थुनामुक्त गर्न अस्वीकार गरेपछि उनकी पत्नी निकिता पौडेलले सामाजिक सञ्जालबाट श्रीमानले न्याय नपाएसम्म लडिरहने प्रतिक्रिया जनाएकी छन् । आफू संविधानले दिएको हरेक अधिकारमा टेकेर लड्ने उनले अठोट व्यक्त गरेकी छन् ।
निकिताले लेखेकी छन्, ‘म थाकेकी छैन, हारेकी छैन । संविधानले दिएको हरेक अधिकारमा टेकेर लड्छु । यो सरकार, उसले साँधेको प्रतिशोध र गरेको अन्यायविरुद्ध निरन्तर लड्छु । मेरो श्रीमानले न्याय नपाएसम्म लडिरहन्छु ।’
रूपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले लामिछानेले जमानतमा हिाको माग गर्दै दिएको निवेदन अस्वीकार गर्दै थुनामै राख्ने फैसला सुनाएको छ । अदालतको आदेशपछि लामिछानेका कानुन व्यवसायीहरुले अदालतको आदेशप्रति कुनै टिप्पणी नगर्ने जनाउँदै कानुनी प्रक्रियाकै थप बाटो अबलम्बन गर्ने बताएका छन् ।
साउन १९ गते रुपन्देही अदालतमा लामिछानेले निवेदनसँगै बिगो भन्दा बढीको बंैक जमानत राखेका थिए।निवेदनपछि चढेको पेशी लामिछानेका कानुन व्यवसायीले नै प्राविधिक समस्या भन्दै स्थगित गरेका थिए ।
आज सोमबार १० नम्बर इजलासमा चढेको पेशीमा न्यायधीश नारायण सापकोटाले बैंक जमानतमा रिहा गर्न अस्वीकार गरेका हुन् । लामिछानेकोतर्फबाट महेन्द्र पाण्डे, राजेन्द्र थापा, नारायण कंडेलले बहस गरेका थिए ।
यसअघिका मुद्दाहरुमा हेरिरहेका कानुन व्यवसायी भने सोमबार सहभागी थिएनन् । सरकारीतर्फ उच्च सरकारी कार्यालयका सहन्यायाधीवक्ता सोमाकान्त भण्डारी, जिल्ला न्यायाधवक्तिा प्रेम पौडेल, सहायक जिल्ला न्यायाधिवक्ता हिरालाल भोलन, दामोदर गौतमले बहस गरेका थिए ।
आदेशपछि अधिवक्ता महेन्द्र पाण्डेले अदालतबाट आएको आदेशप्रति कुनै टिप्पणी नभएको तर लामिछानेप्रति अन्याय भएको प्रष्ट आधारहरु देखिएको बताएका छन् । उनले अब यसबाट उच्च अदालतमा जानुपर्ने जनाएका छन् ।
‘आदेश अदालतले गर्नु आफ्नो ठाउँमा छ, अब थप बाटोको अवलम्बन हुन्छ । उच्चमा जानुको विकल्प छैन’, उनले भने। लामिछाने आफ्नो भागको बिगोबापतको २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत पनि साउन १९ गते निवेदनसँगै दाखिला गरेका थिए ।