आफ्नो भाषणमा कोही उठेर नहिँडेपछि ओलीले भने–सत्संग जस्तै भयो


२०८२ श्रावण २६ सोमबार १७:१० बजे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक कार्यक्रमहरूमा नेताहरूले भाषण गर्दा कार्यकर्ताहरू बीचमै उठेर हिँड्ने र हो–हल्ला गर्ने प्रवृत्तिप्रति व्यंग्य गरेका छन् ।

उनले आफू बोलिरहँदा सहभागीहरू शान्त र अनुशासित भएर बसेकोमा खुशी व्यक्त गर्दै यस्तो दृश्य आजकल दुर्लभ हुँदै गएको बताएका छन् । आज (सोमबार) च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित मदन–आश्रित स्मृति प्रतिष्ठानको पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले भने, ‘मलाई खुशी लागेको छ, कोही पनि बीचैमा उठेर हिँड्नु भएको छैन ।’

उनले नेपालका राजनीतिक कार्यक्रमहरूमा देखिने अनुशासनहीनताको तुलना धार्मिक कथाहरूसँग गरे । ‘श्रीमद्भागवत कथामा त कथा वाचन भइजेलसम्म यस्तो गरेर (हात जोडेर) बस्या हुन्छन्,’ उनले भने, ‘तर यहाँ त बोल्नेले बोलिराख्या हुन्छ, कोही बाहिर निस्किराख्या हुन्छ, उता एउटा झुण्ड गफ गरिराख्या हुन्छन् ।’ कार्यक्रम सञ्चालकले ‘कमरेडहरू बसिदिनुस् न प्लिज, एकछिन’ भन्दै बारम्बार आग्रह गर्नुपर्ने अवस्था रहेको समेत उनले बताए ।

‘हाम्रो त चलन कस्तो छ भने मन लाग्यो बस्यो, मन लाग्यो उठ्यो र हिँड्यो,’ उनले पार्टी कार्यकर्ताहरूमा हुनुपर्ने धैर्य र अनुशासनको कमीतर्फ संकेत गर्दै भने । आफ्नो लामो भाषण धैर्यपूर्वक सुनेकोमा सहभागीहरूलाई धन्यवाद दिँदै उनले यो कार्यक्रम एउटा ‘सत्संग’ जस्तै भएको र यहाँको अनुशासनले आफूलाई उत्साहित बनाएको बताए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७