रविलाई कारागारमै थुन्ने कि धरौटीमा छोड्ने भन्ने आदेश आजै आउने सम्भावना

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले रिहाइको माग गर्दै जिल्ला अदालत रुपन्देहीमा दायर गरेको निवेदनमाथि सुनुवाइ चलिरहेको छ । निवेदनमाथि सुनुवाइ सकिए आजै आदेश आउने सम्भावना रहेको जनाइएको छ ।
निवेदनमाथि सुनुवाइ सकिए आजै आदेश आउने सम्भावना रहेको अदालतका श्रेस्तेदार विकास बस्नेतले जनाएका छन् । उनले भने, ‘अहिले निवेदनमाथि सुनुवाइ भइरहेको छ । सुनुवाइ सकिए लामिछानेलाई धरौटीमा रिहा गर्ने कि थुनामै राख्ने भन्ने आदेश आउनेछ ।’
सहकारी ठगी र संगठित अपराध मुद्दाको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका लामिछानेले दिएको निवेदनमाथि न्यायाधीश नारायण सापकोटाको इजलासमा सुनुवाइ जारी छ । मुलुकी फौजदारी कार्यविधि संहिता,२०७४ को दफा ६८ बमोजिम बैंक जमानत लिइ ऐनको दफा ७१ बमोजिम आदेशको माग गर्दै उनले साउन १९ गते अदालतमा निवेदन दिएका थिए । उनले बिगो बराबरको रकम बैंक ग्यारेण्टी लिएर रिहाइ माग गर्दै अदालतमा निवेदन दिएका छन् ।
निवेदन उपर लामछिाने र सरकारी वकिलको तर्फबाट बहस हुनेछ । त्यसपछि इजलासले आदेश गर्नेछ । निवेदन दर्ता भएको साउन १९ गते नै अदालतका न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले पक्षहरूलाई पेशीको सूचना दिने आदेश गरेको थियो । साउन २० गते न्यायाधीश प्रल्हाद कुमार योगी र साउन २१ न्यायाधीश दिपेन्द्र थापा मगरको इजलासमा चढेको पूरक पेशी निवेदकको (लामिछाने) को कानुन व्यवसायीबाट दुवै दिन स्थगित भएको थियो ।