पतञ्जली घोटाला प्रकरण : पूर्वमन्त्री सिंह र ‘मुख्य नाइके’ सिंह धरौटीमा रिहा

काठमाडौँ । पतञ्जली घोटाला प्रकरणमा पूर्वमन्त्री प्रेमबहादुर सिंह र पतञ्जलि योगपीठका नेपाल प्रमुख शालिग्राम सिंह धरौटीमा छुटेका छन् । पूर्वमन्त्री प्रेमबहादुर सिंह ५० हजार रूपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले अदालतमा उपस्थित भएका पूर्वमन्त्री सिंहसँग आइतबार ५० हजार धरौटी माग्ने आदेश गरेको थियो ।
उक्त धरौटी बुझाएपछि उनी रिहा भएका हुन् । आज बयानपछि थुनछेक बहस भएको थियो । यस क्रममा सरकारी वकिलले थुनामै राखेर कारबाही अघि बढाउनुपर्ने माग गरेका थिए । यस्तै पतञ्जलि योगपीठका नेपाल प्रमुख शालिग्राम सिंह पनि ३५ लाख रूपैयाँ धरौटी बुझाएर छुटेका छन् ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले आइतबार शालिग्रामलाई ३५ लाख रूपैयाँ धरौटीमा छाड्ने आदेश गरेपछि सिंह बैंक ग्यारेन्टी बुझाएर छुटेका हुन् । सोही इजलासमा आइतबार नै उनीहरू दुवै जनासँग बयान लिइएको थियो । त्यसपछि थुनछेक बहस भएको थियो ।
नेपालमा कम्पनी खोल्नेदेखि व्यावसायिक कारोबार गर्ने सम्पूर्ण जिम्मेवारी पाएका शालिग्राम सिंह यस प्रकरणका मुख्य अभियुक्त पनि हुन् । माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद्अन्तर्गत विधेयक समितिले २०६६ माघ १८ गते पतञ्जलि योगपीठलाई हदबन्दीभन्दा बढीको जग्गा राख्न छुट दिने निर्णय गरेको थियो । नेपाल नेतृत्वको सरकारले नै तत्कालै उक्त जग्गा फरक प्रयोजनमा बेच्न स्वीकृति दिएको थियो ।
हदबन्दी छुट दिँदा र त्यस्तो छुट पाएको जग्गा बेच्ने अनुमति दिँदा पनि भ्रष्टाचार गरेको दाबी गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्व प्रधानमन्त्री नेपालसहित ९३ जनाविरूद्ध गत जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । यसअघि पूर्व प्रधानमन्त्री नेपाल यसै प्रकरणमा ३५ धरौटीमै छुटेका थिए ।