जनार्दनको प्रश्न : आत्मालोचना गर्न तयार छु, ३१ लाख भोटको जिम्मा कसले लिने ?

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा उपमहासचिव जनार्दन शर्माले पार्टी फुट्छ भनेर खुमलटारबाटै चलाइएको हल्ला आफूले खारेज गरेको बताएका छन्। बैठकमा बोल्दै शर्माले माओवादी पार्टीबाट आफूलाई हेडक्वार्टरले जति धकेल्न खोजे पनि बाहिर नजाने प्रष्ट पारे ।
बैठकमा जनार्दनको भनाइ उदृत गर्दै एक नेताले भने–हिजो अध्यक्ष प्रधानमन्त्री हुँदा बालुवाटारबाटै पार्टी फुटको हल्ला चलाइयो । प्रभाकर एमालेमा जाँदैछ भनियो । राज्यका संयन्त्रहरु लगाइयो । आज पनि भइरहेकै छ,तर म पार्टी बलियो बनाउन लागिरहेको छु,कहिँ जान्न ।
शर्माले आफूलाई कारवाही गरे भोग्न तयार रहेको र गल्ती बापत आत्मालोचना पनि गर्न तयार भएको बताए । उनले २०६४ मा ३१ लाख भोट ल्याएको पार्टी अहिले ११ लाखमा झरेको जिम्मा कसले लिने ? भनी प्रश्न गरेका थिए । उनले सबैले आ आफ्नो हैसियत र जिम्मेवारी अनुसार आत्मालोचना गर्नुपर्ने बताए ।
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ । जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले पेस गरेको प्रतिवेदनमाथि नेताहरूले आफ्नो धारणा राखिरहेका छन् । बैठकमा अध्यक्षको प्रतिवेदनमाथि भन्दा धेरै उपमहासचिव जनार्दन शर्माको टिप्पणीमा अधिकांश नेताहरूले आलोचना गरिरहेका छन् । आजको बैठकमा शर्माले आफूलाई जोडेर अनावश्यक प्रचार गरिएको भन्दै अध्यक्ष प्रचण्डसहितका नेताहरू प्रति कटाक्ष गरे ।