बागमतीका मुख्यमन्त्री लामाले दिए राजीनामा
‘इमान्दारिताको लडाइँमा पराजित भएँ

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज (आइतबार) पदबाट राजीनामा दिएका छन् । पत्रकार सम्मेलनमार्फत राजीनामा घोषणा गरेका लामा त्यस लगत्तै काठमाडौं प्रस्थान गरेका छन् ।
लामाले मुख्यमन्त्री पदबाट राजीनामाको घोषणा गर्दै इमान्दारिताको लडाइँमा पराजित भएको बताएका छन् । लामाले आफू इमान्दारिताको लडाइँमा पराजित भएको तर त्यसमा आत्मग्लानी नभएको बताएका हुन् ।
‘मैले बदमासी गरिनँ, भ्रष्टाचारको समाचार आएन, शक्तिकेन्द्र र स्वार्थ समूहको इशारामा चल्न सकिन,’ लामाले पत्रकार सम्मेलनमा भने, ‘के यो नै मेरो कमजोरी हो र? इमान्दारिताको लडाइँमा पराजित हुँदा मलाई आत्मग्लानी छैन, बरु सन्तोषको अनुभूति भएको छ ।’
मुख्यमन्त्री लामाले प्रमुख स्वकीय सचिव छत्रबहादुर लामालाई राजीनामा पत्र प्रदेश प्रमुखलाई बुझाउने जिम्मा दिएका छन् । उनका अनुसार प्रदेश प्रमुख दीपक देवकोटा स्वास्थ्य उपचारका कारण अस्पतालमा भएकाले राजीनामा भोलिमात्र बुझाइनेछ ।
‘मैले राजीनामा पत्रमा हस्ताक्षर गरिसकेको छु र सार्वजनिक घोषणा पनि गरिसकेको छु,’ मुख्यमन्त्री लामाले भने, ‘प्रदेश प्रमुख ज्यू उपचारमा हुनु भएकाले सोमबार मात्र बुझाउने काम हुन्छ । उहाँ आउनुभए भेटेर दिने, नभए कार्यालयमा दर्ता गरेर छाड्ने गरी निर्देशन दिएको छु ।’
प्रदेश प्रमुख देवकोटा आइतबार मात्रै उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । गत ९ साउन २०८१ मा मुख्यमन्त्री बनेका लामाले करिब एक वर्ष सरकारको नेतृत्व गरे । नेपाली कांग्रेस बागमती संसदीय दलको हालै सम्पन्न निर्वाचनमा इन्द्र बहादुर बानियाँसँग पराजित भएपछि पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार उनले राजीनामा दिएका हुन् ।
संवैधानिक व्यवस्था पल्टाउँदै लामाले राजीनामा नदिने अटेर भने नगरेका होइनन् । तर कांग्रेस सभापति शेरबहादुर देउवाले राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएपछि लामा राजीनामा दिन तयार भएका हुन् । लामाले राजीनामा दिएसँगै बागमतीमा अब नयाँ नेतृत्वको सरकार गठन हुनेछ ।
कांग्रेस संसदीय दलका नव निर्वाचित नेता बानियाँलाई मुख्यमन्त्री बनाउन प्रक्रिया अघि बढ्नेछ । उनी बागमती प्रदेशका छैटौं मुख्यमन्त्री हुनेछन् । नेकपा एमाले र नेपाली कांग्रेस बीच २०-२० महिना बागमती प्रदेशको मुख्यमन्त्री बन्ने सहमतिअनुसार बहादुरसिंह लामाले १२ महिना प्रदेश सरकारको नेतृत्व गरिसकेका छन् ।
अब नियुक्त हुने बानियाँले ८ महिना बागमती प्रदेशको मुख्यमन्त्री पद सम्हाल्ने छन् । सो पश्चात् नेकपा एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलिया मुख्यमन्त्री बन्ने सहमति छ । केन्द्रमा प्रधानमन्त्री परिवर्तन हुँदा बागमती प्रदेश सरकारमा एमालेले मुख्यमन्त्री पद लिनेछ ।