जनार्दनबारे माओवादीले भन्यो–एकाध व्यक्तिले बोलेका कुराको अर्थ छैन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकमा नेताहरूले गुट भङ्ग गरेर थप एकताबद्ध भइ अघि बढ्नुपर्ने धारणा राखेका छन् ।
आज (आइतबार) पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको बैठकमा अधिकांश नेताहरूले गुट बन्द गर्नुपर्ने र स्वार्थ समूहहरू विघटन गर्नुपर्ने आवश्यकता रहेको बताएको पनि पार्टीका प्रवक्ता अग्नि सापकोटाले बताए ।
उनले व्यक्तिवादी अराजकता, अनुशासनहिनता पार्टीमा बढेर गएको र त्यसलाई नियन्त्रण गर्नुपर्ने धारणा राखेको जानकारी दिए । सांस्कृतिक क्रान्ति चलाउन सदस्यहरूले माग गरेको बताए ।
भ्रष्टाचारविरुद्ध, सुशासन कायम गर्न आवश्यक रहेको सदस्यहरूले व्यवस्थित ढंगले अघि बढ्नुपर्ने धारणा राखेका छन्। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वलाई अझ सबल, सुदृढ र व्यवस्थित गर्नुपर्ने अधिकांश नेताहरूले आफ्ना धारणा राखेका थिए ।
अध्यक्षले आत्मालोचना गर्नुपर्ने विषय उठाएका पार्टीका उपमहासचिव जनार्दन शर्माले एकाध व्यक्तिले बोलेका कुराको कुनै अर्थ नरहेको पनि प्रवक्ता सापकोटाले स्पष्ट पारे ।
‘धेरैले भनेको कुरा के हो भने गुट भङ्ग गर्नुपर्छ, स्वार्थ समूहहरू विघटन गर्नुपर्छ । अनि मात्रै पार्टी एकता हासिल गर्न सकिन्छ । व्यक्तिवादी अराजकता, अनुशासनहिनता जुन बढेर गएको छ, त्यसलाई अब नियन्त्रण गर्नुपर्छ । शुद्धीकरण, रूपान्तरणका कुरा अलि बढी आएका छन्’, उनले भने । आइतबार १९ स्थायी कमिटी सदस्यले आफ्ना धारणा राखेको प्रवक्ता सापकोटाले जानकारी दिए ।