माधव नेपालको दावी : मेरो त भ्रष्टाचारको केस नै होइन

मोरङ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव नेपालले राजनीतिक प्रतिशोध साँध्न आफूलाई मुद्दा लगाइएको दाबी गरेका छन् । आज (शुक्रबार) विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीका क्रममा अध्यक्ष नेपालले आफूलाई लगाइएको आरोप भ्रष्टाचारको विषय नै नभएको बताए ।
‘मेरो त भ्रष्टाचारको केस नै होइन, मन्त्रिपरिषदको सर्वसम्मत निर्णयबाट भएको हो । जसमा नेपाल सरकारलाई एक पैसा पनि नोक्सान भएको छैन’, उनले भने । यो प्रकरण राजनीतिक पूर्वाग्रह र प्रतिशोध भएको दाबी उनको छ । उनले आफूले जीन्दगीमा एक पैसा पनि तलमाथि नगरेको दाबी गरेका छन् । अर्को प्रसंगमा उनले एकीकृत समाजवादी र माओवादीबीच एकीकरण नभएर सहकार्य तथा मोर्चाको विषयमा मात्र छलफल भएको बताए ।
पार्टीका अर्का नेता झलनाथ खनालले एक टेलिभिजन कार्यक्रममा एमाले विभाजन गराएर गल्ती भएको अभिव्यक्ति दिएका थिए । यस विषयमा अध्यक्ष नेपालले पार्टीको विपक्षमा गएर अभिव्यक्ति दिन नहुने बताए । अध्यक्ष नेपालले केपी शर्मा ओलीको दम्भ र अंहकारका कारण नेपालको कम्युनिष्ट आन्दोलनलाई सक्किने मोडमा पुगेको टिप्पणी गरेका छन् । अध्यक्ष नेपालले एमालेमा अहिले चलिरहेको ‘तमासा’ ले नेपालको कम्युनिष्ट आन्दोलनलाई सक्ने जिकिर गरे ।
‘एमालेमा अहिले जुन खालको तमासा चलिरहेको छ, त्यसले नेपालको कम्युनिष्ट आन्दोलन सक्छ । यसमा अध्यक्ष ओली लागिपर्न ुभएको छ’, उनले भने । अध्यक्ष नेपालले पूर्व राष्ट्रिपति विद्यादेवी भण्डारीलाई एमालेमा सक्रिय हुन रोक्ने खेललाई ‘तमासा’ को संज्ञा दिए । निषेधको राजनीतिले कम्युनिष्ट आन्दोलनको अस्तित्व समाप्त हुने उनको भनाइ छ ।
नेपालले पूर्व राष्ट्रपति तथा पूर्व उपराष्ट्रिपतिलाई राजनीतिमा सक्रिय हुन संविधान र कानुनले नरोकेको पनि बताएका छन् । उनले वर्तमान सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिदाइ नगरेसम्म मुलुक पीडाबाट मुक्त हुन नसक्ने जिकिर गरे ।