जनार्दनबारे प्रचण्ड : नेतृत्वको आलोचना बाहिर गर्दै हिँड्नु ठीक होइन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको विधि र पद्धतिभन्दा बाहिर गएर धारणा राख्नु गलत भएको बताएका छन् ।
स्थायी समिति बैठकको सुरु गर्दै उनले उपमहासचिव जनार्दन शर्माले उठाएका प्रश्न सन्दर्भमा कम्युनिष्ट पार्टीमा संसदवादी दलको जस्तो सार्वजनिक रूपमा बोल्ने छुट नभएको बताएका हुन्।
‘कम्युनिष्ट पार्टी बुर्जवा पार्टी जस्तो सार्वजनिक रूपमा बोल्न पाइँदैन । पार्टीमा जनवादी केन्द्रीयता लागू गरेर जानुपर्छ,’ उनको भनाइ उद्धृत गर्दै एक स्थायी समिति सदस्यले भने, ‘जनार्दनजीले सार्वजनिक रूपमा जुन बोल्नु भयो । त्यो ठीक होइन ।’
उनले पार्टीभित्र जनवादी केन्द्रीयतालाई कडाइपूर्वक लागू गरी आन्तरिक पार्टी एकतामा जोड दिनुपर्ने बताए । नेताहरूले महाधिवेशनमा आफ्ना फरक धारणा राख्नु पर्ने भए पनि सार्वजनिक रूपमा पार्टी र नेतृत्वको आलोचना गर्नु गलत भएको बताए ।