भोजपुर खोक्सिकमा पुग्यो केन्द्रीय विद्युत


२०८२ श्रावण १७ शनिबार ०६:४९ बजे

भोजपुर । भोजपुरका दक्षिणी क्षेत्रमा अवस्थित रामप्रसादराई गाउँपालिका–८ खोक्सिकका ९५ प्रतिशत नागरिक विद्युतको पहुँचमा जोडिएका छन् । भौगोलिक रूपमा विकट मानिने यो स्थानमा वडाको सक्रियतामा ९५ प्रतिशत नागरिकको घरमा केन्द्रीय विद्युत् विस्तार भएको हो ।

विद्युत्  विस्तारको शून्य अवस्थाबाट काम सुरु गरेर ९५ प्रतिशत नागरिकको घरमा केन्द्रीय विद्युत् जडान गर्न सफल भएको वडाध्यक्ष बाचकुमार राईले बताए । बाँकी रहेका घरमा पनि चाडै विद्युत् विस्तार गरेर यो आर्थिक वर्षमा उज्यालो वडा घोषणा लक्ष्य रहेको वडाध्यक्ष राईले बताए ।

‘यहाँको ९५ प्रतिशत नागरिकको घरमा केन्द्रीय विद्युत् जडान गर्न सफल भएका छौं’, उनले भने, ‘यहाँ शून्य अवस्थाबाट विद्युत् को काम थालेर विस्तारको अन्तिम चरणमा पुर्‍याएका छौँ । यो आर्थिक वर्षमा उज्यालो वडा घोषणा गर्ने लक्ष्य छ ।’

केन्द्रीय विद्युत् विस्तार भएपछि वषौँदेखीको टुकीबत्तिको सहायतामा रात कटाउनु पर्ने बाध्यताबाट मुक्त भएको स्थानीयबासी दिलकुमार योगीले बताए ।

पुस्तौबाट टुकी तथा सोलारको उज्यालोमा रात कटाइरहेको अवस्थामा विद्युत् को केन्द्रीय लाइन विस्तारले सहजता भएको उनले बताए । विद्युत्  विस्तारले उज्यालोसँगै कुटानी पिसानीको दैनिक कामकाजमा सहज भएको उनको भनाइ छ । 

‘हाम्रो ठाउँका प्रायः सबै स्थान बिजुली पुगेको छ’, उनले भने, ‘विद्युत् विस्तार भएपछि गाउँमा सुविधा थपिएको छ । अँध्यारोमा बस्नु पर्ने बाध्यताको अन्त्य भएको छ । वषौँपछि गाउँमा झिलिमिली बत्ती बलेको देख्दा आनन्द लाग्छ ।’

दुर्गम क्षेत्र भएपनि केन्द्रीय लाइन विस्तारले सूचनाको पहुँचमा जोडिन सहजता भएको स्थानीयबासी दलबहादुर राईले बताए । विद्युत् विस्तारपछि नेट, इन्टरनेट, टेलिभिजन प्रयोग गर्दै गाउँमा  बसेर देश विदेशको जानकारी लिन सक्ने अवस्था बनेको उनको भनाइ छ ।

‘विद्युत् नहुँदा हामीले धेरै समस्या भोग्दै आएका थियौं’, उनले भने, ‘विद्युत् विस्तारपछि हामी धेरै खुसी छौं । विद्युतले गाउँले जीवन शैलीलाई सहज बनाएको छ। बालबालिकाले सहज रूपमा पठनपाठन गर्न पाएका छन् ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७